११ मंसिर २०८१, मंगलबार

मेयर बालेन्द्र साहलाई एमाले सांसद पन्तको आग्रहः जनतालाई मर्कापर्ने काम नगर्नुस्

प्रकाशित मिति :  9 September, 2024 3:24 pm


काठमाडाैँ । सत्तारुढ नेकपा (एमाले) का सांसद रघुजी पन्तले काठमाडाैँ महानगरपालिकाका मेयर बालेन्द्र साहलाई जनतालाई मर्का पर्ने काम नगर्न आग्रह गरेका छन् ।

सोमवार प्रतिनिधि सभामा विशेष समय लिएर बोल्दै उनले जनताको हितमा काम गर्न मेयर शाहलाई सुझाव दिएका हुन् । उनले काठमाडौँमा थुप्रै विद्यालयहरूको नाम अंग्रेजीमा रहेकामा त्यसलाई नेपालीमा राख्ने भनि मेयर साहले सुरू गरेको अभियान कहाँ पुग्यो ? भनि प्रश्न समेत गरे ।

काठमाडौँका विद्यालयहरूकाे नाम अंग्रेजीमा राखिनु कानून विपरित भएकाले त्यसलाई नेपालीमा राख्ने अभियान राम्रो भएपनि मेयर शाहले त्यसलाई निरन्तर रूपमा अघि बढाउन नसकेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे । सांसद पन्तले काठमाडाैँको नदी किनारमा थप २० मिटरसम्म संरचना बनाउन नपाउने सर्वोच्चको फैसला पुनरावलोकनमा जाने सरकारको तयारीको स्वागत पनि गरे ।

सांसद पन्तले सरकारले र स्थानीय तहले जनताको हितमा केन्द्रित भएर काम गर्नुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस !