वरियताक्रम मिचेर मुख्यसचिव नियुक्त गर्दा सचिवहरू आतंकित भएः सांसद तामाङ
काठमाडाैँ । नेकपा (माओवादी केन्द्र) का सांसद हितबहादुर तामाङले सरकारले वरियताक्रम मिचेर मुख्यसचिव नियुक्त गरेका कारण नेपाल सरकारका सचिवहरू आतंकित भएका बताएका छन् ।
सोमवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद तामाङले सरकारको मुख्य काम थिति बसाल्ने र कानुनको कार्यान्वयन गर्ने भएपनि त्यसो हुन नसकेको बताएका हुन् । उनले सरकारले बरियताक्रम मिचेर मुख्यसचिव नियुक्त गरेका कारण नेपाल सरकारका सचिवहरू आतंकित हुनु परेको बताए ।
उनले अन्य नियुक्तिहरूमा पनि वरियताक्रम मिच्ने काम भएको बताए । उनले प्रधानमन्त्रीको तहबाट निरंकुशता लाद्ने खालका निर्णयहरु भइराखेका बताए ।
उनले जनताको अधिकारलाई कुण्ठित गरेर ०४७ सालको संविधानतिर अग्रसर हुनेगरी संविधान संशोधन गर्न माओवादी केन्द्रले नदिने बताए । उनले कार्यकारी अधिकारसहित प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको व्यवस्था गर्ने र पूर्ण समानुपातिक निर्वाचन प्रणाली राख्नेगरी संशोधन हुन्छ भने आफूहरू तयार रहेको बताए ।