३ आश्विन २०८१, बिहिबार
आज विश्व आत्महत्या रोकथाम दिवस

नेपालमा आत्महत्याको डरलाग्दो तथ्याङ्क

प्रकाशित मिति :  10 September, 2024 11:07 am


दाङ । आज विश्वभर ‘आत्महत्या रोकथाम दिवस’ मनाइँदै छ । ‘आत्महत्या रोकथामबारे संवाद सुरु गरौं, दृष्टिकोण बदलौँ’ भन्ने नारासहित विभिन्न जनचेतनामूलक कार्यक्रममार्फत् दिवस मनाइदै छ ।

आत्महत्या रोकथामबारे जनचेतना फैलाउने उद्देश्यले दिवस मनाइन थालिएकाे हाे । नेपालमा यो दिवस विभिन्न जनचेतनामूलक कार्यक्रमहरू गरी मनाइँदैछ। आत्महत्या रोकथामका लागि, विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले यसलाई रोक्न सकिने समस्याका रूपमा पहिचान गरेको छ। तथापि, विश्वभर प्रतिवर्ष करिब ८ लाखभन्दा बढी मानिसले आत्महत्या गर्ने गरेको अनुमान छ।

नेपालमा आत्महत्याको डरलाग्दो तथ्याङ्क
नेपालमा आत्महत्याको समस्या गम्भीर रूपमा उभिएको छ । सरकारी तथ्यांकअनुसार, दैनिक औसतमा १८ देखि २० जनाले आत्महत्या गर्ने गर्छन् । आर्थिक वर्ष २०८०/२०८१ मा मात्र ७ हजार २ सय ३२ जनाले आत्महत्या गरेका छन् । जुन डरलाग्दो तथ्य हो ।

डब्ल्यूएचओका अनुसार, विश्वभरि प्रतिवर्ष ८ लाखभन्दा धेरै मानिसले आत्महत्या गर्छन्, जसमा ७७ प्रतिशत कम र मध्यम आय भएका देशहरूमा हुन्छ । आर्थिक, सामाजिक र मानसिक स्वास्थ्यका कारण आत्महत्या गर्ने गरेको डब्ल्यूएचओले जनाएको छ ।

आत्महत्याको प्रमुख कारण डिप्रेशन
आत्महत्याको ६० प्रतिशत कारण डिप्रेशन अर्थात् गम्भीर प्रकारको उदासीनता रहेको मनोचिकित्सक डा. रवि शाक्यले जानकारी दिए । मनोचिकित्सक डा. शाक्य भन्छन्, “आत्महत्या गर्ने सोच बनाएका व्यक्तिले सङ्केतमार्फत् पूर्व जानकारी दिने गर्छन् । जुन परिवार वा नजिकका आफन्तले समयमै ध्यान दिएर सावधानी अपनाएमा आत्महत्याको जोखिम टार्न सकिन्छ ।”

आत्महत्या रोकथामका उपायहरू
आत्महत्यालाई जीवनको समस्याहरू समाधान गर्ने उपायको रूपमा नलिनु पर्ने विशेषज्ञहरूको सुझाव छ । मनोपरामर्श र उपचार गराएमा मानसिक रोग पनि ठीक हुन्छ र आत्महत्याको जोखिम पनि घटाउन सकिन्छ । डा. शाक्यले जोड दिए, “सचेतना, सही परामर्श र समयमै हस्तक्षेप गर्दा आत्महत्या रोकथाम सम्भव छ ।”

सरकारी प्रयास र चुनौतीहरू
आत्महत्या रोकथामका लागि सरकारले केही पहलहरू गरेको छ । संसदीय समितिको निर्देशनअनुसार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मानसिक अस्पतालमा ११६६ नम्बरको हटलाइन सेवा सञ्चालनमा ल्याएको छ, जसले मानसिक स्वास्थ्य समस्यामा रहेका व्यक्तिहरूलाई समयमै सहायता पुर्याउने लक्ष्य राखेको छ । तर, यी प्रयासहरू पर्याप्त छैनन् । मानसिक स्वास्थ्य सेवाको पहुँचमा अझै पनि धेरै चुनौतीहरू छन्, विशेष गरी ग्रामीण क्षेत्रमा । विशेषज्ञहरूले थप जनचेतना, मानसिक स्वास्थ्यको पहुँच र उपचारको गुणस्तरमा सुधार आवश्यक रहेको बताउँछन् ।



प्रतिक्रिया दिनुहोस !