११ मंसिर २०८१, मंगलबार

नियतमा खोट छैन, कमिकमजोरी भए सच्चिन तयार छौं: मुख्यमन्त्री आचार्य

प्रकाशित मिति :  10 September, 2024 3:02 pm


दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सुशासन, सामाजिक न्याय र समाज रुपान्तरणका लागि मिडिया क्षेत्रबाट निरन्तर खबरदारी गर्न आह्वान गरेका छन् । उनले तथ्यमा आधारित भएर सुशासन, पारदर्शीता, जवाफदेहीता र भ्रष्टाचार नियन्त्रणका लागि मिडिया क्षेत्रबाट खबरदारी गर्न आह्वान गरेका हुन् ।

नेपाल पत्रकार महासंघ दाङ शाखाको आयोजनामा मंगलबार घोराहीमा मिडिया मन्थन पुस्तकको विमोचन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले तथ्यमा आधारित भएर सुधारका लागि आलोचना गर्न आह्वान गरेका छन् । “सरकार सच्चिन चाहन्छ । त्यहीँ भएर तथ्यमा आधारित भएर आलोचना गर्नुस् । हामी सच्चिन तयार छौं”, उनले भने, “आलोचना गर्न नडराउनुस, म सच्चिन चाहन्छु, सकिन चाहदैन । यहाँहरुले गर्ने तथ्यमा आधारित आलोचनाबाट सच्चिएर अघि बढ्छौं ।” मुख्यमन्त्री आचार्यलेले नियतमा खोट नभएको, कमिकमजोरी भए सच्च्याउन तयार रहेको स्पष्ट पारे ।

राजनीतिक स्थायित्व कायम गर्न, आर्थिक अवस्था सुधार गर्न संयुक्त सरकार बनेको र वर्तमान सरकारले जनतामा आशा जगाउन मुख्यमन्त्री र मन्त्रीका नामा हुने फजुल खर्च नियन्त्रण गर्न आचारसंहिताको बन्धनमा राखिएको स्पष्ट पारे ।

“मुख्यमन्त्री र मन्त्रीलाई आचारसंहिता लागू गरेका छौं । यो आचारसंहिताले मुख्यमन्त्री र मन्त्रीको नाममा हुने फजुल खर्च नियन्त्रण गर्छ”, उनले भनिन्, “जिल्ला भ्रमणको क्रममा हुने होटलको खर्चको बिल सरकारले भुक्तानी गर्दैन । अनावश्यक खर्चलाई नियन्त्रण गर्न हामी प्रतिबद्ध छौं ।”

पूर्व विशिष्ट व्यक्तिको नाममा सरकारको ढुकुटीबाट सेवासुविधा दिने निर्णय फिर्ता गरेर जनतामा आशा जगाउने काम सरकारले गरेको उनको भनाइ छ । “पदबहाली गरेको ४७ दिन भयो । यो अवधिमा सुशासन, पारदर्शीको क्षेत्रमा केही महत्वपूर्ण कामहरु अघि बढाएका छौं”, उनले भने, “सरकारले जनतामा आशा जगाउन काम थालेको छ । यहाँहरुको सहयोगको खाँचो छ ।”

उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले विश्वसनीय सूचना र समाचार प्रवाहमा ध्यान दिन आग्रह गरे । “पत्रकारीतामा नयाँ आयाम थप्ने काम गरेको छ । विश्वसनिय सूचना र समाचारको अभाव हुन थाल्यो । एकतर्फी सूचनाले भ्रम छर्ने गरेको छ”, उनले भने, “समाज रुपान्तरणको लागि मिडिया क्षेत्रको भूमिका महत्वपूर्ण छ । जनताको पक्षमा बुलन्द आवाज उठाउने मिडिया क्षेत्र हो । संघीयतालाई बलियो बनाउनेगरी मिडिया क्षेत्रबाट भूमिका बढाउन जरुरी छ ।”

मन्त्री न्यौपानेले प्रदेशले गरेका राम्रा योजना र कामहरुको प्रचारप्रसार बढाउनुपर्ने, राम्रा कामको प्रचार गरेर अघि बढ्नुपर्ने बताए । संघीयताको मर्मअनुसार प्रदेश सरकारले काम गरेको भन्दै आम जनताको दिनचर्या सहज बनाउनेगरी मिडियाबाट खबरदारी गर्न आग्रह गरे । तीन तहको सरकारको बिचमा प्रभावकारी समन्वयका लागि तयार हुनुपर्ने, समग्र प्रदेशको विकासका लागि सहकार्य जरुरी रहेको स्पष्ट पारे ।



प्रतिक्रिया दिनुहोस !