३ आश्विन २०८१, बिहिबार

इन्सेफलाइटिसको संक्रमणबाट १४ जनाको मृत्यु

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका अनुसार ६१ जनामा इन्सेफलाइटिसको संक्रमण पुष्टि
प्रकाशित मिति :  13 September, 2024 5:28 pm


दाङ । नेपालमा जापानीज इन्सेफलाइटिसको संक्रमणले गम्भीर रूप लिँदै गएको छ । परिवार कल्याण महाशाखाले दिएको जानकारी अनुसार शुक्रबारसम्म देशभर १४ जनाको मृत्यु भइसकेको छ, भने ६१ जनामा संक्रमण पुष्टि भएको छ ।

अघिल्ला वर्षमा भन्दा यस वर्ष जापानीज इन्सेफलाइटिसबाट मृत्यु हुनेहरुको संख्या अत्यधिक बढेको महाशाखाले जानकारी दिएको छ । कैलाली, कपिलवस्तु, पाल्पा, चितवन, सिन्धुली, रौतहट, सर्लाही, सिराहा, सुनसरी र झापामा प्रकोप बढी देखिएको छ । महामारीले विशेष रूपमा १५ वर्षभन्दा कम उमेरका बालबालिकालाई बढी प्रभावित गरिरहेको महाशाखाले जनाएको छ ।
संक्रमणको अवस्था र कारण
यसैबीच राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले ६१ जनामा जापानीज इन्सेफलाइटिसको संक्रमण पुष्टि भएको जनाएको छ । यो वर्ष ६९५ जनाको नमुना परीक्षण गर्दा ६१ जनामा संक्रमण पुष्टि भएको र २२.९५ प्रतिशत संक्रमित व्यक्तिको मृत्यु भएको प्रयोगशालाको तथ्यांकमा उल्लेख गरिएको छ । नेपालमा हरेक वर्ष अगस्ट र सेप्टेम्बर महिनामा जापानीज इन्सेफलाइटिसका बिरामीको संख्या उच्च रहेको हुने प्रयोगशालाको तथ्यांकले देखाएको छ ।
जापानीज इन्सेफलाइटिस लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको गम्भीर सरुवा रोग रहेको विशेषज्ञ डा. शेरबहादुर पुनले जानकारी दिए । उनका अनुसारयो रोगले प्रभावित बिरामीमा अङ्गभङ्ग हुने, मृत्युसम्म हुने जस्ता गम्भीर समस्या उत्पन्न गराउन सक्छ ।
लक्षण र बचाउका उपायहरू
जापानीज इन्सेफलाइटिसको प्रमुख लक्षणमा बेस्सरी टाउको दुख्ने, उच्च ज्वरो आउने, घाँटीमा गाह्रो हुने, बेहोस हुने, कमपन हुने, र पक्षघात हुने रहेका छन् । यस्ता लक्षण देखिएमा तत्काल उपचार नहुँदा मृत्युको सम्भावना समेत रहन्छ ।
यस रोगबाट बच्नका लागि लामखुट्टेको टोकाइबाट जोगिनु नै सबैभन्दा महत्वपूर्ण उपाय हो । चिकित्सकहरूले सधैँ झुलभित्र मात्र सुत्न, घरपालुवा जनावरलाई व्यवस्थित रुपमा घरदेखि टाढा राख्न, र पूर्ण बाहुला भएका कपडा लगाउन सुझाव दिएका छन् । साथै, घरको झ्याल ढोकामा जाली राख्न, पानी जम्ने ठाउँको सफाइ गर्न र लामखुट्टे भगाउने मलमको प्रयोग गर्न पनि चिकित्सकहरूले सल्लाह दिएका छन् ।
खोपको महत्व
सरकारले जापानीज इन्सेफलाइटिसको संक्रमणबाट बच्न १२ महिनामा जापानीज इन्सेफलाइटिसविरुद्धको खोप राष्ट्रिय खोप कार्यक्रममा समावेश गरेको छ । जसलाई निःशुल्क रूपमा प्रदान गरिँदै आइएको छ । यस खोपले बालबालिकालाई यस रोगबाट सुरक्षित राख्न मद्दत पु¥याएको छ । खोप लगाउन छुटेका बालबालिकालाई नजिकको स्वास्थ्य संस्थामा गएर खोप लगाउन अनुरोध गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !