३ आश्विन २०८१, बिहिबार
पार्टी कार्यकर्तालाई मुख्यमन्त्रीको निर्देशन

“योजना खोज्दै हिड्ने होइन, कृषि फर्म खोलेर आत्मनिर्भर बन्नुस्”

प्रकाशित मिति :  13 September, 2024 5:40 pm


दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेकपा एमालेका केन्द्रीय सदस्य चेतनारायण आचार्यले प्रदेश सरकारले सुशासन कायम गर्न र भ्रष्टाचार उन्मुलन गर्न अघि बढाएको अभियानलाई जनता माझ पु¥याउन पार्टी पंक्तिलाइ निर्देशन दिएका छन् ।

नेकपा एमाले बिजयनगर गाउँपालिका कमिटी कपिलवस्तुको दोस्रो गाउँ कमिटी अधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रदेश सरकारले जनतामा बढ्दै गएको निराशालाई आशामा बदल्न सुशासन कायम गर्न र भ्रष्टाचार निर्मुल गर्न कठोर भएर अघि बढेको बताएका हुन् ।

“एक पटक मुख्यमन्त्री भएपछि आजीवन राज्यबाट सेवासुविधा लिने निर्णयलाई उल्टाएका छौं”, मख्यमन्त्री आचार्यले भने, “प्रदेश सरकारले गरेको ताकेताबाट एक जनाले गाडी फिर्ता गर्नुभयो । अर्काे गाडी फिर्ता हुने अवस्थामा छ । उहाँले फिर्ता नगरे प्रहरी लगाएर पनि फिर्ता गराउँछौं ।”

योजना कार्यान्वयनको नाममा हुने आर्थिक अपचलनका बिरुद्ध प्रदेश सरकार निर्मम ढंगले अघि बढेको बताए । पाँच लाख भन्दा माथिका योजनालाई प्रतिस्पर्धाको माध्यमबाट कार्यान्वयन गर्नेगरी सरकार अघि बढेको स्पष्ट पारे । “यो वर्ष लगेका फाइल पढ्न बाहेक, बजेट हाल्न सक्दिनँ । प्रदेश सरकारले असार १ गते बजेट ल्याउँछ । यस वर्षको बजेट आइसकेको छ”, उनले भने, “छुटेका योजनालाई अर्काे वर्ष समेट्छौं । परेको बजेटलाई सही ढंगले सदुपयोग गरे विकासले फड्को मार्छ ।”
खेती गर्ने, पशु पाल्ने कामलाई पार्टीका नेताहरुले अंगालेर उदाहरण दिन मुख्यमन्त्री आचार्यले निर्देशन दिए ।

हरेक नागरिक आत्मनिर्भर नहुँदासम्म मुलुक बन्न नसक्ने भन्दै व्यवसायमा जोडिन आह्वान गरे । “कृषि पेशा कमजोर हो, भन्ने चिन्तनले अहिले समस्या निम्त्यायो । छोरा छोरीलाई घाँस काट्ने, मल फाल्ने, गाई, भैंसी पाल्ने कुरा कथा जस्तो लाग्न थाल्यो”, उनले भने, “पुर्खाहरुले गरेका कामलाई निरन्तरता दिनेगरी हरेक क्षेत्रलाई प्रविधिसँग जोडेर युवाहरुलाइ लैजान सकिन्छ । यता पनि ध्यान दिनुपर्ने छ ।”

पार्टी अध्यक्ष थर्कबहादुर खन्गाहाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सभा सदस्य गिरीधारीलाल न्यौपानेले समृद्ध लुम्बिनी आत्मनिर्भर प्रदेश बनाउने अभियानमा जुट्न पार्टी पंक्तिलाई आह्वान गरे । अधिवेशन उद्घाटन कार्यक्रमलाई एमाले जिल्ला अध्यक्ष बाबुराम खनाल, पूर्व जिल्ला अध्यक्ष झविलाल पोख्रेल, पूर्व अध्यक्ष डम्बर शर्मालगायतले सम्बोधन गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !