३ आश्विन २०८१, बिहिबार
एमाले सचिवालय बैठक सम्पन्न

पार्टीलाई बलियो राष्ट्रिय शक्ति बनाउने कार्ययोजना पारित गरेका छौं–महासचिव पोखरेल

प्रकाशित मिति :  13 September, 2024 6:17 pm


काठमाडौँ । नेकपा एमाले सचिवालय बैठक सम्पन्न भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज (शुक्रबार) सम्पन्न बैठकले पार्टीको वार्षिक कार्ययोजना बनाएको महासचिव शंकर पोखरेलले जानकारी दिए ।

बैठकपछि पत्रकारसँग कुरा गर्दै पार्टी महासचिव पोखरेलले बलियो राष्ट्रिय शक्ति बनाउने गरी पार्टीले वार्षिक कार्ययोजना बनाएको जानकारी दिए । जनसंगठन परिचालन गरी जनतासँग जोडिने कुरालाई प्राथमिकतामा राखेर कार्ययोजना बनाएको पोखरेलले बताए । “आजको बैठकले निर्णायक राष्ट्रिय शक्तिको वार्षिक कार्ययोजना पारित गरेको छ”, पोखरेलले भने ।

वार्षिक कार्ययोजनाभित्र १८ वटा विषय समावेश गरिएको पोखरेलले बताए । “पार्टी सदस्यता नवीकरण, विस्तार र अभिलेखीकरणको कामलाई कार्ययोजनाको पहिलो विषय बनाइएको छ । नियमित रूपमा अधिवेशनको आयोजना र व्यवस्थापनको काम खास गरी केही जिल्लामा अधिवेशन बाँकी छ । त्यसलाई कार्तिक मसान्तभित्र सम्पन्न गर्ने योजना बनाएका छौं । सबै तहका अधिवेशन मङ्सिर मसान्तभित्र सक्ने योजना बनाइएको छ”, पोखरेलले भने ।

पार्टी प्रवेश गरेका र विभिन्न अधिवेशनबाट बिदा भएकाहरूलाई तीन महिनाभित्र यथोचित जिम्मेवारी दिने योजना बनाइएको उनले जानकारी दिए । पार्टी कमिटी र कार्यकर्ताको कामको विधि स्थापित गर्ने योजना पनि बैठकले बनाएको छ ।

पार्टी कमिटी परिचालन, अन्तर्विरोध व्यवस्थापन र पार्टी एकतालाई आधार बनाएर बैठकले कार्ययोजना बनाएको छ । पार्टीको स्कुल सञ्चालनलाई अभियानको रूपमा सञ्चालन गर्ने योजना बैठकले बनाएको छ । प्रत्येक वर्ष पार्टीका प्रत्येक सदस्य पार्टीको कुनै न कुनै तहको स्कुलमा सामेल भएर स्कुलिङमा भाग लिनुपर्ने र उनीहरूबाट नेतृत्व निर्माण गर्ने अवधारणालाई बैठकले अगाडि सारेको पोखरेलले जानकारी दिए ।

सरकार र जनप्रतिनिधिको कामलाई प्रभावकारी बनाउने विषयमा पनि बैठकले विभिन्न निर्णय गरेको छ । सरकारले गरेका कामलाई जनस्तरमा लैजाने र जनप्रतिनिधिको भूमिका वृद्धि गर्ने कुरामा कार्ययोजना केन्द्रित रहेको पोखरेलले बताए ।

पार्टी र जनताबीचको सम्बन्धलाई जीवन्त बनाउन केन्द्रदेखि वडासम्मका पार्टी कार्यालयलाई व्यवस्थित गर्ने निर्णय पनि बैठकले गरेको छ । परम्परागत प्रचारको ढाँचालाई परिवर्तन गरी सामाजिक सञ्जालमार्फत प्रचारको कामलाई अघि बढाउने बैठकले निर्णय गरेको छ ।

कामका नयाँ क्षेत्र पहिचान गरी जिम्मेवारी प्राप्त गर्न नसकेका नेताहरूलाई नयाँ क्षेत्रको जिम्मेवारी दिने बैठकले निर्णय गरेको छ । पार्टीका हरेक कमिटीले वार्षिक बजेट तयारी गरी आम्दानी र खर्चको हिसाबकिताब राख्नुपर्ने बैठकको निर्णय छ ।

पार्टी शुद्धीकरण र सुदृढीकरणको विषय पनि पार्टीको वार्षिक कार्ययोजनामा रहेको छ । पार्टीभित्रको जीवनशैली, आचरण र आर्थिक अनुशासनको कामलाई व्यवस्थित बनाउने विषय पनि कार्ययोजनामा समावेश छन् ।

त्यसैगरी पार्टीलाई कसरी बलियो राष्ट्रिय शक्ति बनाउने र मिसन २०८४ मा पार्टीलाई कसरी बहुमतप्राप्त पार्टी बनाउने भन्ने विषय वार्षिक कार्यक्रममा रहेका पोखरेलले जानकारी दिए । प्रवासको कामलाई पनि पार्टीको वार्षिक कार्ययोजनामा समावेश गरिएको उनले बताए । पार्टी केन्द्रीय कार्यालय भवन निर्माण, पार्टीमा नियमित रिपोर्टिङ प्रणाली विकास, यूथ समिट आयोजना गर्ने कार्ययोजना पनि बैठकले तय गरेको छ ।



प्रतिक्रिया दिनुहोस !