३ आश्विन २०८१, बिहिबार

वर्षा प्रभावित क्षेत्रमा राहत तथा उद्धारमा खटिन मन्त्री भण्डारीको आग्रह

प्रकाशित मिति :  13 September, 2024 7:04 pm


काठमाडाैँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सुदूरपश्चिम प्रदेशमा निरन्तरको बर्षाका कारण उत्पन्न परिस्थितीको सामना गरि राहत तथा उद्धारमा खटिन सम्बन्धीत निकायलाई आग्रह गरेका छन् ।

आज एक प्रेस विज्ञप्ती जारि गर्दै उनले प्रभावित क्षेत्रका व्याक्तिहरुलाई संयमित भई सुरक्षित रहन र राहत तथा उद्धारमा तदारुकता देखाउन सम्बन्धीत सरकारी निकाय र संघ संस्थाहरुलाई आग्रह गरेका हुन् ।

प्रेस विज्ञप्तीमा भनिएको छ, “सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेश भैरहेको विपदमा क्षतिमा निरन्तर वर्षा भैरहेको छ । मौसमविद् हरुका अनुसार अझै १ दिन निरन्तर वर्षाको सम्भावना रहेकाले प्राकृतिक विपदको समयमा सबैलाई संयमित भई सुरक्षित रहन आग्रह गर्दछु ।”

सुदूपश्चिम प्रदेश अन्तर्गत डडेल्धुरा जिल्ला परशुराम नगरपालिका वडा नम्बर ८ की १४ बर्षीय प्रतिमा धामी र डोटी जिल्ला केआइसिंह गाउँपालिका वडा नम्बर ४ की ८ बर्षीया निर्मला चन्द बेपत्ता हुनुका साथै ३ जना घाइते र केही पशुचौपायासमेत मरेको घटनाले दुखित तुल्याएको छ ।

कर्णाली नदीमा पानीको बहाव बढेकाले कैलाली जिल्लाका १४६ परिवारका ५४७ जना विस्थापित भएका छन् भने कञ्चनपूरको दोधारा चादँनी, पुनर्वास र भिमदत्त नगरपालिकाका ८३ परिवारका २४६ जना विस्थापित भएका छन् र बैतडीको दशरथचन्द नगरपालिका वडा नम्बर ११ बगलेखानमा ४ घर जोखिममा परेका छन् । भिमदत्त पन्त राजमार्ग, जयपृथ्वीबहादुर सिंह राजमार्ग र केआइसिंह राजमार्गका ठाउँठाउँमा पहिरो जाँदा सडक अवरुद्ध भइ आवतजावत प्रभावित बनेको छ । निरन्तरको वर्षाले अन्य क्षेत्रमा पनि यसप्रकारका घटना हुने सम्भावना देखिन्छ ।



प्रतिक्रिया दिनुहोस !