३ आश्विन २०८१, बिहिबार

स्वास्थ्य सेवालाई चुस्त बनाउँछौं–मुख्यमन्त्री आचार्य

प्रकाशित मिति :  14 September, 2024 1:46 pm


बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सरकारीसँगै निजी क्षेत्रबाट सञ्चालन भएका अस्पताल तथा स्वास्थ्य संस्थाको उपचार सेवालाई प्रभावकारी बनाउन प्रदेश सरकारले ध्यान दिने बताएका छन् ।

नेपाल औषधि व्यवसायी संघ जिल्ला शाखा रुपन्देहीको आयोजनामा आज (शनिबार) बुटवलमा भएको सम्मान एवम् औषधि व्यवसायीहरुको क्षमता अभिवृद्धि तालिम उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारी अस्पतालको सेवा सुविधालाई सुधार गर्दै निजी क्षेत्रका अस्पताललाई समेत कानुनी दायराभित्र ल्याएर सेवा प्रवाहलाई चुस्त बनाउने बताए ।

प्रदेश सरकारले स्वास्थ क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर विशेषज्ञ उपचार सेवा सञ्चालन गरेको जानकारी दिए । बुटवललाई स्वास्थ हव बनाउन, आर्थिक रुपमा समृद्ध बनाउन लुम्बिनी प्रादेशिक अस्पतालले नयाँ आयाम थप्ने विश्वास व्यक्त गरे ।

“१२ सय अस्पतालले पूर्णता पाएपछि औषधि व्यवसाय फस्टाउने छ । आर्थिक कारोबार बढ्ने छ । बुटवल आर्थिक हव बन्छ”, मुख्यमन्त्री आचार्यले भने, “प्रादेशिक अस्पतालको भवन निर्माण चालू आर्थिक वर्ष १ अर्ब ८० करोड बजेट बिनियोजन गरेको छ । प्रदेश सरकारले सबै हिसाबले उच्च प्राथमिकतामा राखेको छ ।”

मुख्यमन्त्री आचार्यले हरेक व्यवसायलाई पारदर्शी बनाउन जरुरी रहेको धारणा राखे । औषधि व्यवसायको नाममा हुने लागुऔषधको कारोबार र औषधि विभागले स्वीकृति नदिएका औषधिको बिक्री वितरणमा कडाइ गरिने बताए ।

“व्यवसायीकतालाई ख्याल गरेर अघि बढ्नुस् । मानिसको जीवनको संवेदनशील क्षेत्र स्वास्थ्य क्षेत्र हो”, उनले भने, “स्वास्थ्य क्षेत्रमा यहाँहरुले पु¥याएको योगदानको सम्मान गर्न चाहन्छु । उपचारका लागि सेवा गर्नुभएको छ । अप्ठ्यारो अवस्थामा पनि औषधिको अभाव हुन दिनु भएन ।”

गुणयुक्त, असरयुक्त, जनसुरक्षित, औषधिको आपूर्ति, हाम्रो प्रतिबद्धता भन्ने मुख्य नारासहित औषधि व्यवसायीको क्षमता अभिवृद्धि गर्न थालिएको छ । औषधि व्यवसायी संघका अध्यक्ष खड्गप्रसाद बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक तथा निवर्तमान अध्यक्ष सुरज भट्टराईले विषय प्रवेश गराउँदै सरकारी स्तरबाट खाद्यान्न, औषधि र कस्मेटिक ल्याव स्थापना गर्न माग राखे । यस्तै बुटवल, दाङ र रुपन्देहीमा औषधिजन्य फोहर व्यवस्थापन केन्द्र स्थापना गर्न जरुरी रहेको धारणा राखे ।



प्रतिक्रिया दिनुहोस !