३ आश्विन २०८१, बिहिबार

कांग्रेसीले पढ्दैनन्, कम्युनिस्टले छोडिसके:पूर्वप्रधानमन्त्री भट्टराई

प्रकाशित मिति :  14 September, 2024 4:53 pm


काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा। बाबुराम भट्टराईले देशमा पठन संस्कृति लोप हुँदै गएको बताएका छन् ।

शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै भट्टराईले अहिले पठन संस्कृतिको चलन हराउँदै गएको भन्दै चिन्ता व्यक्त गरेका हुन् । उनले भूमिगत कालमा पञ्चायतविरुद्ध लड्दा काँग्रेस, कम्युनिस्ट सबै जेलमा हुँदा पनि पढ्ने गरेको स्मरण गरे । तर अहिले अध्ययन गर्ने संस्कृति हराइरहेको उनको भनाई थियो ।

उनले भने, “अहिले मान्छेमा पढ्ने लेख्ने चलन पनि छैन । हिजोका हाम्रा साथीहरू त्यत्रो भूमिगत कालमा पञ्चायतविरुद्ध लड्दा कांग्रेस, कम्युनिस्ट सबै साथीहरू जेलमा पर्दा पनि सँगै अध्ययन गर्ने बानी थियो । पछि हामी जनयुद्धमा जाँदा पनि त्यत्रो मेहनत गरेर पढ्थ्यौँ । अहिले यता आइसकेपछि अब काँग्रेसका साथीहरुले त पढ्नै छोडिहाल्नु भयो । कम्युनिस्टहरू अलि बढी जो पढ्ने हो कम्युनिस्टहरू पनि अब कुनै खास फरक छैन । उहाँहरूले पनि पढाइलेखाइमा रुचि राख्नुहुन्न । हामीले अघि वैकल्पिक ढङ्गले जानुपर्छ, भन्नेहरू पनि अलिअलि मेहनत गर्न खोजेका छौँ तर हाम्रो पनि आरण्य रोदन जस्तो भइरहेको छ ।”

पूर्वप्रधानमन्त्री भट्टराईले आर्थिक वृद्धि, सामाजिक न्याय, दिगो प्रकृतिको संरक्षण र मान्छेमा खुसीपना आउनुपर्ने आयामसहितको विकास आवश्यक रहेको बताए ।

उनले लोकतन्त्र उन्नत हुँदै जाने प्रक्रिया भएकाले यसको विकास गर्दै अघि बढ्नुपर्ने जिकिर गरे । समावेशी र सहभागितामूलक लोकतन्त्रमा आधारित समाजवाद आवश्यक रहेको उनको भनाई थियो ।



प्रतिक्रिया दिनुहोस !