३ आश्विन २०८१, बिहिबार

बालअधिकार सुनिश्चित गर्न सरकार संवेदनशील छः मन्त्री सुडी

प्रकाशित मिति :  14 September, 2024 5:00 pm


काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले बालअधिकार सुनिश्चित गर्नका लागि सरकार संवेदनशिल रहेको बताएका छन् । राष्ट्रिय बाल दिवस २०८१ मुल समारोहलाई काठमाडौँमा शनिवार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले बालबालिकाको शिक्षा र स्वास्थ्य क्षेत्रमा भएका लगानी र बालबालिकाको क्षेत्रका विभिन्न सवालहरुलाई सम्बोधन गर्न चालु आर्थिक वर्षमा संघ, प्रदेश र स्थानीय सरकारले लिएको नीति र बजेट व्यवस्थापन गरिएको बताए ।

उनले नेपाल सरकारले बालबालिका सम्बन्धी विभिन्न कानून, नीति, योजना तथा कार्यक्रममार्फत बालबालिकाको संरक्षण, सुरक्षा, शिक्षा, स्वास्थ्य लगायतका विषयमा लगानी गर्दै आएको भएपनि आवश्यक लगानी गर्न नसकेको बताए । उनले बालबालिकाको सुरक्षाका लागि थप लगानी गर्न आवश्यक रहेको समेत बताए ।

उनले बालबालिकाका संरक्षणका सवालमा नयाँ प्रकारका समस्या र चुनौतिहरुको सामना गरिरहेको बताए । उनले बालबालिकाप्रतिको हिंसा, बाल यौन दुव्र्यवहार, बालश्रम, बालविवाह र लैंगिक विभेद जस्ता अन्य असमानताका समस्याले बालबालिकाको उज्वल भविष्यमा नकारात्मक असर परेको बताए ।

उनले भने, “बालबालिकाको शिक्षा र स्वास्थ्य क्षेत्रमा भएका लगानी र बालबालिकाको क्षेत्रका विभिन्न सवालहरुलाई सम्बोधन गर्न विशेष गरी यस आर्थिक वर्षमा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारले लिएको नीति र बजेट व्यवस्थापनले समेत प्रष्ट पारेको छ । वर्तमान सरकार बालअधिकार सुनिश्चितताका लागि अत्यन्त संवेदनशिल रहेको छ भन्ने म विश्वास दिलाउन चाहन्छु ।”

मन्त्री सुडीले विशेष संरक्षणको आवश्यकता रहेका बालबालिकाहरुको लागि सरकारले पर्याप्त श्रोत र साधन परिचालन गर्दै गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा सुनिश्चित गर्ने प्रतिवद्धता जनाए । उनले बालबालिकाहरुको अधिकार सुरक्षित र सुनिश्चित गर्न लगानीको आवश्यकता रहेको उल्लेख गरे । यस वर्ष ‘बालबालिकामा लगानीःसुनिश्चित भविष्यको थालनी’ भन्ने नारासहित बाल दिवस मनाइएको छ ।



प्रतिक्रिया दिनुहोस !