३ आश्विन २०८१, बिहिबार

एनपिएलको मार्की तय, खेलाडीले जनही २० लाख पाउने

प्रकाशित मिति :  15 September, 2024 10:39 am


काठमाडाैँ । आगामी मंसिरको तेस्रो सातादेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपिएल) का मार्की खेलाडी २० लाख रुपैयाँ पाउने भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा आगामी मंसिर १५ देखि पुस ६ सम्म हुने तय छ । उक्त एनपिएलमा खेल्ने आठ फ्रेन्चाइज टोलीका मार्की खेलाडी २० लाख रुपैयाँ पाउने भएका हुन् ।

क्यानले शनिवार काठमाडौँमा आयोजना गरेको मार्की खेलाडी छनोट गर्ने कार्यक्रममा उनीहरूले पाउने पारिश्रमिकबारे जानकारी दिएको हो । शनिवार गोलाप्रथाबाट नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल लुम्बिनी र पूर्वकप्तान सन्दीप लामिछाने विराटनगरको मार्की खेलाडी तय भएका छन् । काठमाडौँले तिब्र गतिका अनुभवी बलर करण केसीलाई मार्की खेलाडीको रूपमा पाएको छ ।  

त्यस्तै ओपनर कुशल भुर्तेल पोखरा र अलराउण्डर कुशल मल्ल चितवनको मार्की तय भएका छन् । अर्का ओपनर आसिफ शेख जनकपुर, अनुभवी बलर सोमपाल कामी कर्णाली र दीपेन्द्रसिंह ऐरी सुदूरपश्चिमका मार्की खेलाडीका रूपमा छनोट भएका छन् ।

पोखराको स्वामित्व नेपाल टी–२० प्राली, काठमाडौंको स्वामित्व कान्तिपुर पब्लिकेशन र चितवनको स्वामित्व चितवन मेडिकल कलेजले खरिद गरेको हो । लुम्बिनीको स्वामित्व फच्र्युना हेल्थ केयर, जनकपुरको ड्रिम्स स्पोर्ट्स र कर्णालीको स्वामित्व हिमालयन बिल्डर्स एण्ड इन्जिनियर्सले खरिद गरेको हो ।

इम्पायर स्पोर्ट्स म्यानेजमेन्टको स्वामित्वमा सुदूरपश्चिम छ । एमएडी ड्रिम स्पोटर्सले विराटनगर दुई करोड पाँच लाख खरिद गरेको थियो । पोखराका लागि सबैभन्दा बढी तीन करोड ५७ लाख मूल्यमा खरिद भएको हो । कर्णाली सबैभन्दा कम एक करोड ११ लाखमा हिमालयनले फ्रेन्चाइजी पाएको हो ।



प्रतिक्रिया दिनुहोस !