३ आश्विन २०८१, बिहिबार

चीन र भारतको विकासले पश्चिमा दृष्टिकोणको असर नेपाली राजनीतिमा पर्‍यो: महासचिव पोखरेल

प्रकाशित मिति :  15 September, 2024 6:15 pm


काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले चीन र भारतको बढ्दो विकासका कारणले गर्दा पश्चिमा दृष्टिकोणको असर नेपालको राजनीतिमा परिरहेको बताएका छन् ।

आइतबार काठमाडौँमा सुधीर शर्माका दुई पुस्तक ‘हिमालपारिको हुरी’ र ‘भिक्षु, व्यापार र विद्रोह’को विमोचन कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

महासचिव पोखरेलले बदलिएको विश्व परिवेशका सन्दर्भका बारेमा एसियाको विकासका सम्भावनाका बारेमा एसियाकै ज्ञान, सिद्धान्तआधारित विश्व व्यवस्थाको निर्माणका सन्दर्भका बारेमा विमर्श सुरु गर्नुपर्ने बताए । उनले नयाँ विश्व व्यवस्थाका सर्जकका रूपमा चीन र भारत अगाडि आइरहेको बताए ।

उनले भने, “बदलिएको विश्व परिवेशका सन्दर्भका बारेमा एसियाको विकासका सम्भावनाका बारेमा एसियाकै ज्ञान, सिद्धान्तआधारित विश्व व्यवस्थाको निर्माणका सन्दर्भका बारेमा हामीले विमर्श सुरु गर्नुपर्छ भन्ने लाग्छ । त्यस अर्थमा नयाँ विश्व व्यवस्थाका सर्जकका रूपमा हाम्रा दुई वटा छिमेकीहरू अगाडि आउन खोजिरहेका छन् । स्वभाविक रूपमा चीन र भारतको बढ्दो विकासका कारणले गर्दा पश्चिमा दृष्टिकोणको असर नेपालको राजनीतिमा परिरहेको छ ।”

महासचिव पोखरेलले अब पश्चिमाको आँखाबाट नभई एसियाको आँखाबाट नेपालको समृद्धिका सपना देख्नुपर्ने बताए । नेपाललाई एसियाली ज्ञान सिद्धान्तका आधारमा एसियालाई भविष्यको मानव सभ्यताको नेतृत्वकर्ता सभ्यताको विकास गर्ने कुराको आधारका सामाजिक, राजनीति, आर्थिक रूपमा अगाडि बढ्नुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस !