३ आश्विन २०८१, बिहिबार
राष्ट्रिय विज्ञान दिवस

नेपालले आफ्नै वैज्ञानिक खोज परम्परालाई पुनर्जागृत गर्छ -प्रधानमन्त्री ओली

प्रकाशित मिति :  17 September, 2024 12:45 pm


काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न विज्ञान तथा प्रविधि क्षेत्रको भूमिका अत्यन्त महत्वपूर्ण हुने बताएका छन्।

बाह्रौँ राष्ट्रिय विज्ञान दिवसको अवसरमा आज जारी गरेको शुभकामना सन्देशमा प्रधानमन्त्री ओलीले विज्ञानको क्षेत्रमा नेपालले आफ्नै वैज्ञानिक खोज परम्परालाई पुनःजागृत गर्नुपर्नेमा जोड दिएका छन्।

सन्देशमा भनिएको छ, “पूर्वीय दर्शनले सयौँ वर्षअघिदेखि कसरी वैज्ञानिक खोजलाई आत्मसात गरेको थियो भन्ने प्रमाण हाम्रा शास्त्र र ग्रन्थहरूमा स्पष्ट छन्। हाम्रो शिक्षा प्रणाली परापूर्वकालमा असाधारण र विज्ञान प्रवर्तक थियो। समयक्रमसँगै हामीले यसलाई थप विकास गर्न नसकेका हौँ। तर, बाँकी संसारले ज्ञानको उज्यालोसँग साक्षात्कार गर्न नपाएको बेला पनि विज्ञानका युगान्तकारी सिद्धान्त हाम्रो शिक्षा, शैक्षिक प्रणाली र मौलिक परम्परामा समाहित भएका थिए। खगोलशास्त्र, भूगोलशास्त्र, औषधि विज्ञान र जीवविज्ञानको क्षेत्रमा हामी विगतमै अगाडि थियौँ। अब पुनः हाम्रो आफ्नै वैज्ञानिक खोज परम्परालाई जागृत गर्नुपर्नेछ।”

प्रधानमन्त्री ओलीले विकास र निर्माणका कामलाई द्रुत गतिमा अघि बढाउन सरकारले विज्ञान र प्रविधिलाई मेरुदण्डका रूपमा अङ्गीकार गरेको बताएका छन्। उनले आर्थिक विकास, सामाजिक रूपान्तरण र प्राविधिक विकासलाई उत्पादनको मूल आधार मानिएको उल्लेख गरे।

सन्देशमा भनिएको छ, “सरकारले विज्ञान र प्रविधिको शिक्षालाई प्रगतिको वाहकका रूपमा स्वीकार गरेको छ। यस क्षेत्रका विद्यमान संरचनाहरूको सशक्तीकरण र सबलीकरण पनि उत्तिकै आवश्यक छ। यस्ता संस्थाहरूको पुनःसंरचनाका लागि उच्चस्तरीय आयोग गठन गरी कार्यान्वयनको योजना सरकारले लिएको छ।”

प्रधानमन्त्रीले सरकारको तर्फबाट अनुसन्धान र उद्यमशीलता प्रवर्द्धनका लागि आविष्कार कोष र ‘स्टार्टअप फण्ड’जस्ता कार्यक्रमका लागि बजेट विनियोजन गरिएको पनि जानकारी गराएका छन्। साथै, विज्ञानको प्रयोग गरी तथ्यमा आधारित नीति र कार्यक्रम निर्माणमा केन्द्रित हुनुपर्ने आवश्यकता रहेको प्रधानमन्त्रीको सन्देशमा उल्लेख गरिएको छ।



प्रतिक्रिया दिनुहोस !