३ आश्विन २०८१, बिहिबार

बुधवार पश्चिम नेपालमा वर्षा हुने, लुम्बिनी र सुदूरपश्चिमका तराईमा हावाहुरीको सम्भावना

प्रकाशित मिति :  18 September, 2024 6:13 am


काठमाडौँ। मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तरतर्फ र पूर्वतिर सरदर स्थानको आसापस अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव संगै भारतको उत्तरपूर्वी मध्यप्रदेश र दक्षिण उत्तरप्रदेश आसपास रहेको न्यूनचापिय प्रणालीको आंशिक प्रभाव पनि रहेको छ ।

बुधवार बिहानीपख गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मूख्यतया सफा रहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी २४ घण्टामा कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भु–भागका थोरै स्थानहरु तथा बाँकी भू–भागको एक–दुई स्थानमा मेघ गर्जन–चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

बिहीवार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको विभागले जनाएको छ ।

मौसम प्रतिकूल रहने क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !