३ आश्विन २०८१, बिहिबार

लुम्बिनी प्रदेशमा संविधान दिवस मनाइँदै : यस्ता छन् कार्यक्रमहरु

प्रकाशित मिति :  18 September, 2024 7:54 am


दाङ । लुम्बिनी प्रदेश सरकारले संविधान दिवस–२०८१ विभिन्न कार्यक्रम गरेर मनाउने भएको छ । बुधबार (आज)देखि शुक्रबारसम्म विभिन्न कार्यक्रम आयोजना गरेर तीन दिन भव्यरुपमा संविधान दिवस मनाउन लागेको प्रदेश सरकारले जनाएको छ ।

सुशासन, सामाजिक न्याय र समृद्धिको माध्यमबाट लुम्बिनी प्रदेशको समग्र विकासलाई जनतासामु पुर्‍याउन संविधानको कार्यान्वयनको पूर्ण कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको भन्दै संविधान दिवसलाई भव्य रूपमा मनाउन लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आह्वान गरेका छन्।

कार्यक्रमको पहिलो दिन आज प्रदेशस्थित सबै सरकारी कार्यालयहरूमा राष्ट्रिय झण्डा फहराउँदै कार्यालय परिसरमा सरसफाइ र स्वास्थ्य मन्त्रालयको समन्वयमा रक्तदान कार्यक्रम आयोजना गरिएको मुख्यमन्त्री आचार्यले बताए ।

त्यसैगरी संविधान दिवस तथा राष्ट्रिय दिवस भव्य रूपमा मनाउने प्रदेश सरकारी निकायका वेबसाइटमा सूचनाहरू सार्वजनिक गरिएको छ।

उक्त सूचनाअनुसार पहिलो दिन आज प्रदेश राजधानी परिसर क्षेत्रको लुम्बिनी हलमा संविधान कार्यान्वयनको पहिलो दशक उपलब्धि र चुनौती विषयक विज्ञसँग छलफल हुँदैछ।

असोज ३ गते दाेस्राे दिन प्रदेश सरकारले आम नागरिकलाई तीन दिन आ–आफ्नो घरको छत, वरण्डामा दीपावली गर्न आह्वान गर्दै संविधान दिवसको मूल समारोह आयोजना गरिने जनाएको छ ।

भोली हुने मुल समारोहमा लुम्बिनी प्रदेश राजधानी परिसर क्षेत्र राप्ती उपत्यका देउखुरीमा विभिन्न सांस्कृतिक झाँकीसहित बिहान प्रभातफेरी निकालिनेछ ।

प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरको प्रमुख आतिथ्यतामा हुने उक्त कार्यक्रममा निःशुल्क स्वास्थ्य परीक्षण, रक्तदान कार्यक्रम गरिने जारी सूचनामा उल्लेख गरिएको छ ।

प्रदेश सरकारले उक्त अवसरमा जिल्ला समारोह समितिसँग समन्वय गरेर १२ वटा जिल्लास्थित अस्पतालहरूमा बिरामीको निःशुल्क प्रयोगशाला परीक्षण तथा आकस्मिक टिकट निःशुल्क गर्ने भएकाे छ ।

त्यस्तै अन्तिम दिन असोज ४ गते शुक्रबार उपयुक्त स्थान पहिचान गरेर प्रदेश सरकारका मन्त्रालय, निर्देशनालय कार्यालयहरू सम्बद्ध सरोकारवालाहरूको समन्वयमा वृक्षरोपण कार्यक्रम गर्ने प्रदेश सरकारले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !