३ आश्विन २०८१, बिहिबार

सहकारी वचत रकम दुरुपयोग गर्नेमाथि समितिको प्रतिवेदनअनुसार कारबाही प्रक्रिया अघि बढ्छः उपप्रधानमन्त्री सिंह

प्रकाशित मिति :  18 September, 2024 10:18 am


काठमाडाैँ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले सहकारी वचत रकम दुरुपयोग भएको सम्बन्धमा प्रतिवेदनलाई आधार बनाएर कारबाही अघि बढाइने बताएका छन् ।

बुधवार गणेशमान सिंहको २७ औं पुण्य तिथिमा आयोजित कार्यक्रममा सञ्चारकर्मीहरूको प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् । उनले सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले संसदमा प्रतिवेदन पेश गरिसकेको र सभामुख देवराज घिमिरेले पनि सरकारलाई समितिको प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिइसक्नुभएको भन्दै अब सोही प्रतिवेदनलाई आधार बनाएर सरकारले कारबाही शुरु गर्ने बताए।

उनले समितिले दिएको प्रतिवेदनको अध्ययन गरी मन्त्रीपरिषद्मा छलफल गरेर कारबाही प्रक्रिया अघि बढाइने बताए ।”हाम्रो पाल्र्यामेण्ट बैठकमा विशेष छानविन समितिले रिपोर्ट पेश गरेको छ । अब सभामुखले सरकारलाई कार्यान्वयनमा लैजानका लागि निर्देशन दिनुभएको छ । सरकारले रिपोर्टको अध्ययन गरेर, संसदीय समितिले रिपोर्ट दिएकाले त्यो सुझावलाई आधार मानेर मन्त्रीपरिषद्मा छलफल भएर चाँडै नै विधि र प्रक्रियाअनुसार अघि बढ्छ,”उनले भने ।

सो अवसरमा उनले गणेशमान सिंहको प्रतिमामा माल्यार्पणसहित पुष्पगुच्छासमेत अर्पण गरे ।उनले नेपालमा प्रजातन्त्र स्थापना गर्न र त्यसपछि पनि प्रजातन्त्रको संरक्षणका लागि नेतृत्वदायी भुमिका गणेशमानले गर्नुभएको बताए ।



प्रतिक्रिया दिनुहोस !