३ आश्विन २०८१, बिहिबार

मुख्यमन्त्रीसँग दसैँ खर्च माग्न सुर्खेतबाट दाङ झरे राउटे

प्रकाशित मिति :  18 September, 2024 8:38 pm


दाङ । शिरमा ढाका टोपी, खुट्टामा प्लास्टिकको चप्पल, पिठ्यूँमा भारी । उमेरले ६० वर्ष पुग्नुभएका दिलबहादुर शाही लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेट्न प्रदेश राजधानी राप्ती उपत्यका, देउखुरी आइपुगे ।

दसैं खर्च माग्न आएका शाहीले मुख्यमन्त्रीलाई आफ्नै हातले बनाएको काठको कोसी उपहार दिए । सुर्खेतमा बस्दै आएका शाही मुख्यमन्त्रीलाई भेट्न बुधबार यहाँ आइपुगेका हुन् । “यो काठको कोसी हो । आफ्नै हातले बनाएको । यस्तो कोसी बनाउन थालेको धेरै भइसक्यो”, उहाँले भन्नुभयो, “मुख्यमन्त्रीज्यू, दसैं त आइहाल्यो । खर्च चाहियो ।”

दसैं खर्च माग्न यसपटक शाही एक्लै लुम्बिनी प्रदेशसम्म आइपुगेका छन् । “साथीहरू आउन थालेका थिए । तर, गाडी चढ्न डराए”, उहाँले भन्नुभयो, “मरे म नै मरुँला भनेर आएँ ।” राउटे समुदायका व्यक्तिलाई सरकारले सामाजिक सुरक्षा भत्ता दिँदै आएको छ । मासिक चार हजार रुपैयाँ भत्ता बुझ्दै आएका छन् ।

राउटे समुदाय हरेक वर्ष दसैंको खर्चका लागि प्रदेश सरकारमा धाउँदै आएका छन् । मुख्यमन्त्री आचार्यले दिलबहादुरमार्फत् राम्रोसँग दसैं मनाउन सन्देश पठाएका छन् ।



प्रतिक्रिया दिनुहोस !