३ आश्विन २०८१, बिहिबार

आज संविधान दिवस : देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै

प्रकाशित मिति :  19 September, 2024 6:18 am


दाङ । आज संविधान दिवस–२०८१ । देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । सरकारी तथा निजी कार्यालयहरू, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज र विभिन्न संघसंस्थाहरूले संविधान दिवस मनाउन विभिन्न कार्यक्रम आयोजना गरेका छन् ।

संविधान दिवस नेपालमा विशेष महत्व राख्ने दिन हो । २०७२ असोज ३ मा तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले संविधानसभाबाट अनुमोदन गरिएको ‘नेपालको संविधान २०७२’ जारी भएको घोषणा गरेका थिए। संविधान निर्माणको यो ऐतिहासिक क्षणलाई सम्झनका लागि प्रत्येक वर्ष संविधान दिवसको रूपमा मनाइन्छ ।

संविधान निर्माणको ऐतिहासिक पृष्ठभूमि
नेपालको संविधान २०७२ जारी भएपश्चात्, देशले नयाँ युगको सुरुवात गरेको थियो । यस संविधानले नेपालको अन्तरिम संविधान २०६३ लाई प्रतिस्थापन गरेको हो । संविधान निर्माणको प्रक्रियामा ५३७ सभासद्हरूले हस्ताक्षर गरेका थिए, जसमा संघीयता, धर्मनिरपेक्षता, समाजवादोन्मुख शासन व्यवस्था, र गणतन्त्रात्मक शासन प्रणाली जस्ता महत्वपूर्ण प्रावधान समावेश छन् । संविधानमा ३५ भाग, ३०८ धारा र ९ अनुसूचीहरू रहेका छन् ।

संविधान जारी हुँदा संविधानसभाका अध्यक्ष स्वर्गीय सुवासचन्द्र नेम्वाङ हुनु हुन्थ्यो । संविधान जारी हुनुको महत्व नेपालका लागि ऐतिहासिक थियो, किनकि यो जनताबाट छानिएका प्रतिनिधिहरूले पहिलोपटक संविधान निर्माण गरेका थिए । यसले ६५ वर्ष पुरानो जनताको आकांक्षा पूरा गरेको थियो ।

संविधान दिवस २०८१ का लागि विशेष कार्यक्रम
नेपाल सरकारले यस वर्षको संविधान दिवसलाई विशेष महत्वका साथ मनाउँदै छ । तीन दिनसम्म विभिन्न कार्यक्रम आयोजना गरी संविधान दिवसलाई राष्ट्रिय दिवसका रूपमा मनाइदै छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ, भने उपसमितिहरू पनि तयार भएका छन् । असोज २, ३ र ४ गते नेपालभित्र र विदेशस्थित नेपाली नियोगहरूमा दीपावली तथा अन्य कार्यक्रमहरू आयोजना गरिदै छ ।

संविधान दिवसका अवसरमा सरकारले संविधानको महत्व, राष्ट्रको स्वतन्त्रता र सार्वभौमिकता, जनताको अधिकार र संघीयताको महत्वलाई विशेष रूपमा स्मरण गराउने प्रयास गरेको छ । संघीय गणतन्त्र नेपालको संविधानले मुलुकलाई नयाँ युगमा प्रवेश गराएको र यसको कार्यान्वयनले दिगो शान्ति, सुशासन र विकासको मार्ग प्रशस्त गरेको छ । यस संविधान दिवसको अवसरमा देशभरका नागरिकलाई शुभकामना व्यक्त गरिएको छ ।

लुम्बिनी प्रदेशमा संविधान दिवस यसरी मनाइँदै छ
लुम्बिनी प्रदेश सरकारले संविधान दिवस–२०८१ विभिन्न कार्यक्रम गरी मनाउँदै छ । बुधबारदेखि शुक्रबारसम्म विभिन्न कार्यक्रम आयोजना गरी तीन दिन भव्य रूपमा संविधान दिवस मनाउन लागेको प्रदेश सरकारले जनाएको छ ।
सुशासन, सामाजिक न्याय, र समृद्धिको माध्यमबाट लुम्बिनी प्रदेशको समग्र विकासलाई जनतासमक्ष पु¥याउन संविधानको पूर्ण कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको भन्दै संविधान दिवसलाई भव्य रूपमा मनाउन लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आह्वान गर्नु भएको छ ।

कार्यक्रमको पहिलो दिन बुधबार प्रदेशस्थित सबै सरकारी कार्यालयहरूमा राष्ट्रिय झण्डा फहराउँदै कार्यालय परिसरमा सरसफाइ र स्वास्थ्य मन्त्रालयको समन्वयमा रक्तदान कार्यक्रम आयोजना गरी दिवस मनाइएको मुख्यमन्त्री आचार्यले जानकारी दिनु भयो ।

त्यस्तै, संविधान दिवस तथा राष्ट्रिय दिवस भव्य रूपमा मनाउन प्रदेशका सरकारी निकायका वेबसाइटहरूमा सूचनाहरू सार्वजनिक गरिएको छ । सूचनाअनुसार पहिलो दिन बुधबार प्रदेश राजधानी परिसरको लुम्बिनी हलमा ’ संविधान कार्यान्वयनको पहिलो दशकः उपलब्धि र चुनौती’ विषयक विज्ञसँग छलफल कार्यक्रम गरिएको जनाइएको छ ।

असोज ३ गते दोस्रो दिन प्रदेश सरकारले आम नागरिकलाई तीन दिन आ–आफ्नो घरको छत र वरन्डामा दीपावली गर्न आह्वान गर्दै संविधान दिवसको मूल समारोह आयोजना गरिने जनाएको छ । आज हुने मुल समारोहमा लुम्बिनी प्रदेश राजधानी परिसर क्षेत्र राप्ती उपत्यका देउखुरीमा विभिन्न सांस्कृतिक झाँकीसहित बिहान प्रभातफेरी निकालिनेछ ।

प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरको प्रमुख आतिथ्यतामा हुने उक्त कार्यक्रममा निःशुल्क स्वास्थ्य परीक्षण र रक्तदान कार्यक्रम पनि गरिने सूचनामा उल्लेख गरिएको छ ।

प्रदेश सरकारले उक्त अवसरमा जिल्ला समारोह समितिसँग समन्वय गरेर १२ वटा जिल्लास्थित अस्पतालहरूमा बिरामीको निःशुल्क प्रयोगशाला परीक्षण तथा आकस्मिक टिकट निःशुल्क प्रदान गरिने जनाएको छ ।

त्यस्तै, अन्तिम दिन असोज ४ गते शुक्रबार उपयुक्त स्थान पहिचान गरी प्रदेश सरकारका मन्त्रालय, निर्देशनालय कार्यालयहरू र सम्बद्ध सरोकारवालाहरूको समन्वयमा वृक्षरोपण कार्यक्रम आयोजना गरिने प्रदेश सरकारले जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस !