३ आश्विन २०८१, बिहिबार

निर्माण पूरा नभइ सर्वसाधारणका लागि खुल्यो धरहरा, केही समय निःशुल्क चढ्न पाइने

प्रकाशित मिति :  19 September, 2024 9:24 am


काठमाडौँ । आज संविधान दिवस पारेर धरहरा सर्वसाधारणका लागि खुला हुँदै छ। २०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पमा ध्वस्त भएको धरहरा पुनर्निर्माण पूरा नभइ आजदेखि सर्वसाधारणका लागि खुला गरिएको हो ।

धरहराको ९८ प्रतिशत संरचना निर्माण कार्य भइसकेको छ । धरहरा क्षेत्रको पार्कका संरचना अहिले पनि निर्माणाधीन नै छ तर सरकारले संविधान दिवसको अवसर पारेर धरहरा खुला गर्ने निर्णय अनुसार नै बिहीबारदेखि सबैका लागि चढ्न मिल्ने गरी धरहरा खुला गरिएको हो।

२०७८ साल वैशाख ११ मा प्रधानमन्त्रीले ओलीले संरचनाको ४२ प्रतिशत मात्रै काम सकिएको अवस्थामा धरहराको उद्घाटन गरेका थिए । आजदेखि सरकारले अर्को व्यवस्था नहुदाँसम्म केही समय निःशुल्क धरहरा चढ्न सकिने भएको छ ।

धरहरा निर्माणको जिम्मा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पाएको थियो। प्राधिकरणको कार्य अवधि सकिएपछि सहरी विकास मन्त्रालय मातहत सहरी विकास तथा भवन निर्माण विभागलाई बाँकी निर्माणको काम हस्तान्तरण गरिएको थियो।



प्रतिक्रिया दिनुहोस !