३ आश्विन २०८१, बिहिबार
संविधानका ९ वर्ष

अराजक, अशिष्ट र अमर्यादितहरूको क्रिडास्थल समाज नेपालीले चाहेका छैनन्ः प्रधानमन्त्री

प्रकाशित मिति :  19 September, 2024 11:29 am


काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीले अराजक, अशिष्ट र अमर्यादितहरूको क्रिडास्थल समाज नचाहेको बताएका छन् ।

बिहीवार सैनिक मञ्च टुँडिखेलमा आयोजित संविधान दिवस मुल समारोहलाई सम्बोधन गर्दै उनले पाका उमेरकाले तन्नेरीलाई स्नेह गर्ने, युवा वयस्कले ज्येष्ठ नागरिकहरूको सम्मान गर्ने नमूना समाज देशले चाहेको बताएका हुन् । शान्त, सभ्य र सुसंस्कृत, सुखसहितको समृद्धिको समाज आफूहरुले चाहेको बताए ।

उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्र, स्वस्थ प्रतिष्पर्धासहितको व्यवस्था भएको उल्लेख गर्दै बैलाई अधिकार, अवसरमा समान पहुँच, समानता, सामाजिक न्याय, सुरक्षा र मर्यादा सहितको लोकतन्त्र रहेको बताए ।

“हामीले चाहेको समाज अराजक, अशिष्ट र अमर्यादितहरूको क्रिडास्थल होइन । पाका उमेरकाले तन्नेरीलाई स्नेह गर्ने, युवा वयस्कले ज्येष्ठ नागरिकहरूको सम्मान गर्ने नमूना समाज हो । यस्तो नमूना समाज– जुन शान्त, सभ्य र सुसंस्कृत हुनेछ । जहाँ सुखसहितको समृद्धि हुनेछ । हामीले अपनाएको सङ्घीय लोकतान्त्रिक गणतन्त्र, स्वस्थ प्रतिष्पर्धासहितको व्यवस्था हो । त्यसैले, सबैलाई अधिकार, अवसरमा समान पहुँच, समानता, सामाजिक न्याय, सुरक्षा र मर्यादा सहितको लोकतन्त्र, हाम्रो लोकतन्त्र हो । सुशासन अर्थात कानूनी राज, पारदर्शिता र उत्तरदायित्व हाम्रो लोकतन्त्रको अभिन्न शर्त हो,”उनले भने ।

प्रधानमन्त्री ओलीले वर्तमान शासन व्यवस्थालाई बलियो बनाउनु र यसको पक्षमा उभिनु सबैको कर्तव्य र दायित्व भएको बताए ।



प्रतिक्रिया दिनुहोस !