३ आश्विन २०८१, बिहिबार

नागरिकको तिब्र आकांक्षालाई सम्बाेधन गर्न राजनीतिक दलमा दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य

प्रकाशित मिति :  19 September, 2024 12:04 pm


दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नागरिकहरूमा बढ्दो आकांक्षालाई सम्बोधन गर्न राजनीतिक दलमा दरिलो एकता, समन्वय र सहकार्य जरुरी रहेको बताएका छन् ।

संविधान तथा राष्ट्रिय दिवस २०८१ को मुल समारोह कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले समृद्ध लुम्बिनी आत्मनिर्भर प्रदेशको नारालाई सार्थक बनाउन सबै सरोकार वाल निकायको जिम्मेवारीपूर्ण भूमिका रहने बताएका हुन् । सम्बाेधनको क्रममा उनले योजना निर्माण र कार्यान्वयनको तहमा लुम्बिनी प्रदेश अन्य प्रदेशको तुलनामा अग्रणी स्थानमा रहेको बताए ।

दिर्घकालीन लक्ष निर्धारण गरेर प्रदेश सरकारले योजनाबद्ध विकासलाई प्राथमिकतामा राखेर कार्यान्वयन गरिरहेकाले अन्य प्रदेशको तुलनामा लुम्बिनी अग्रणी स्थानमा रहेको बताए । ” नेपालको संविधान, १६ औँ आवधिक योजना, दिगो विकासका लक्ष एवम् अन्तरराष्ट्रिय प्रतिवद्धता, लुम्बिनी प्रदेश सरकारको दोस्रो आवधिक योजनाको अवधारणा पत्र, दश वर्षे दिर्घकालिन रणनीतिक योजना, मध्यमकालिक खर्च संरचना, प्रत्येक वर्ष सालवसाली रुपमा प्रदेश सरकारले प्रस्तुत गर्ने नीति तथा कार्यक्रम प्रति केन्द्रित रही बजेट तर्जुमा गरी कार्यान्वयन गरिरहेको अवस्था छ जसको कारण सातवटै प्रदेशमा लुम्बिनी प्रदेश अग्र स्थानमा छ,”मुख्यमन्त्री आचार्यले भने ।

लुम्बिनी प्रदेश सरकारले पनि प्रदेश सभाबाट ७२ वटा कानून निर्माण गरी कार्यान्वयनमा ल्याइसकेको छ भने केही कानूनहरू निर्माणको चरणमा रहेको मुख्यमन्त्री आचार्यले बताए । तर, साझा अधिकार सूचीका कानूनहरु सबै नबन्दा केही कठिनाइ महसुस भएको मुख्यमन्त्री आचार्यले बताए। कानूनहरू संघीय सरकारबाट द्रुत गतिमा निर्माण गर्न प्रदेश सरकारले समन्वय र सहकार्य गर्न तत्पर रहेको उल्लेख गरे ।

न्युन जनशक्ति, नयाँ स्थानमा प्रदेश राजधानीको व्यवस्थापन, प्रदेश गौरवका आयोजनाको सम्पन्नता तथा न्यून जनशक्तिको व्यवस्थापनका लागी आवश्यक कानून तर्जमा तथा परिमार्जन गर्ने गरी सरकार अघि बढेको स्पष्ट पारे ।

मुख्यमन्त्री तथा मुल समारोह समितिका अध्यक्ष चेतनारायण आचार्यको अध्यक्षता तथा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सभामुख तुलाराम घर्ती मगरले संविधानमा उल्लेखित अधिकारहरु कार्यान्वयन गर्न तीन तहका सरकारको विचमा समन्वय, सहकार्य र सहअस्तित्वकाे मुल मर्मलाइ आत्मसात् गरेर अघि बढ्न जरुरी रहेकाे बताए ।

झाँकी र प्रभातफेरीको उत्सव

संविधान दिवसलाई भब्य र रचनात्मक बनाउन विभिन्न समुदायको कला संस्कृती झल्किने झाँकी प्रदर्शनी गरिएको छ । मगर, थारु, नेवार, ब्राहमण लगायतका समुदायले आ–आफ्नो समुदायको कला संस्कृती सहितको झाँकी प्रदर्शन गरेका हुन । संविधान दिवसलाई उत्सवमय बनाउन विविधतायुक्त झाँकीहरु प्रदर्शन गरिएको थियो । राप्ती नेवारी समाजले परम्परागत राेपाइ जात्रा, थारु समुदायकाे झाकी, राप्ती स्काउट समुहले स्काउट झाकी, राप्तीकाे नाैमती बाजा सहितकाे झाँकि प्रस्तुत गरिएको थियाे ।



प्रतिक्रिया दिनुहोस !