४ आश्विन २०८१, शुक्रबार

महिला फुटबल लिगः वागमतीमाथि वालिङ हाबी

प्रकाशित मिति :  20 September, 2024 5:49 am


काठमाडौँ। शिर्ष पाँचमा पुग्न महत्वपूर्ण मानिएको खेलमा वालिङ नगरपालिकाले बिहीवार जारी महिला फुटबल लिगमा वागमती युथ क्लवमाथि फराकिलो जित निकालेको छ ।

लिगको शिर्ष पाँचभित्र अटाउने टोलीले सुपर लिगको यात्रा तय गर्नेछ । त्यसैले शिर्ष पाँचका दाबेदार मानिएको वालिङ र सघंर्षरत वागमती दुवैका लागि यो खेल महत्वपूर्ण थियो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्स फुटबल मैदानमा वालिङ हाबी भयो र महत्वपूर्ण तीन अंक पनि प्राप्त गर्‍यो । वालिङको जितमा विदेशी खेलाडी सिसी एनटोङ्गो र ज्याकलिन नसालीको प्रदर्शन उत्कृष्ट रह्यो ।

जितसँगै ६ खेलबाट १२ अंक जोड्दै वालिङ चौथो स्थानमा उक्लिएको छ । यता शिर्ष पाँचकै दाबेदार वागमती भने समान खेलबाट चार अंकका साथ आठौं स्थानमा छ । वालिङको जितमा सिसी र ज्याकलिनले समान दुई गोल गरे ।

वालिङले दुवै हाफमा समान दुई गोल गरेको हो । खेलको २२ औं मिनेटमा एनटोङ्गोको गोलमार्फत वालिङले अग्रता लिएको थियो । एनटोङ्गोले फ्रिकिक प्रहारमा भएको असफलतालाई सदुपयोग गरेकी हुन् ।

उनले करिव १८ यार्डबाट गरेको फ्रिकिक वागमतीका खेलाडीको बारमा ठोक्किँदै फर्कियो । लगत्तै उनको लेफ्ट फुटेट सट गोलमा परिणत भयो । ४१ औं मिनेटमा वालिङले अग्रता दोब्बर बनायो । एनटोङ्गोकै गोलबाट वालिङले अग्रता दोब्बर बनाएको हो ।

सुक्रिया मियाले गरेको प्रहार पहिलो बारमा लागेर फर्कियो । लगत्तै बागमतीका खेलाडी क्लियर गर्न नसकेको बल नियन्त्रणमा लिँदै एनटोङ्गोले फेरि लेफ्ट फुटेट सट गोलमा परिणत भएको हो ।

यससँगै पहिलो हाफमा वालिङले २–० को अग्रता लियो । वालिङले दोस्रो हाफमा गोल थप्यो । वालिङले ५४ औं मिनेटमा तेस्रो गोल ग¥यो ।

यसपल्ट पनि बागमतीको फितलो डिफेन्सको फाइदा लिँदै वालिङले गोल गरेको हो । एनटोङ्गो राइट साइडबाट गरेको फ्रिकिक प्रहार बागमतीको डिफेन्डरले फितलो क्लियर गर्दा नसालीले गोल गरेकी हुन् ।

८३ औं वालिङले चौथो गोल ग¥यो । नसालीले व्यक्तिगत दोस्रो गोल गर्दै वालिङलाई फराकिलो जित दिलाएकी हुन् ।

सुस्मा तामाङका प्रहार वागतमीकी गोलकिपर सुजता तामाङले सुरुआतमा रोकिन् । तर, सोही बल रिबाउन्ड हुँदा सुस्माले अनमार्क नसालीलाई पास दिइन् । उक्त अवसरमा नसालीले खाली पोस्ट गोल गरेकी हुन् ।

—न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !