४ आश्विन २०८१, शुक्रबार

प्रधानमन्त्री ओली आज अमेरिका प्रस्थान गर्ने

प्रकाशित मिति :  20 September, 2024 7:01 am


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आज अमेरिका प्रस्थान गर्ने भएका छन् । संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज उनी अमेरिका जान लागेका हुन ।

संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घको महासभालाई असोज १० गते प्रधानमन्त्री ओलीले सम्बोधन गर्नेछन् । महासभाको यस वर्षको साधारण बहस ‘कोही पनि पछाडि नछोडिनेः वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र मानव मर्यादाको विकासका लागि मिलेर काम गर्ने’ विषय रहेको छ ।

प्रधानमन्त्री ओली असोज ८ गते महासभाको साधारण बहसको उद्घाटनसत्र र असोज ९ गते अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनेछन्।

न्यूयोर्कमा रहँदा प्रधानमन्त्री ओलीले अतिकम विकसित देशहरूको ग्लोबल समन्वय ब्यूरोको अध्यक्षका रूपमा सम्मेलनलाई पनि सम्बोधन गर्न कार्यतालिका रहेको मन्त्रालयले जनाएको छ।

प्रधानमन्त्री ओलीका साथमा उनकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सचिव सेवा लम्साल र नेपाल सरकारका वरिष्ठ अधिकारीहरू हुनेछन्। प्रधानमन्त्री ओली असोज १४ गते स्वदेश फर्कनेछन् कार्यतालिका रहेको छ ।



प्रतिक्रिया दिनुहोस !