५ आश्विन २०८१, शनिबार

प्रधानमन्त्री ओली न्यूयोर्कमा : संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने

प्रकाशित मिति :  21 September, 2024 3:59 pm


न्यूयोर्क । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्युयोर्क आइपुगेका छन् । संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली कतारको दोहा हुँदै न्युयोर्क आइपुगेका हुन् ।

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आएका प्रधानमन्त्री ओलीलाई विमानस्थलमा नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा, वासिङ्टन डिसीस्थित नेपाली दूतावासका कार्यबाहक राजदूत कुमारराज खरेल, न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासका कार्यबाहक महावाणिज्यदूत चक्र सुवेदीलगायतका अधिकारीहरूले स्वागत गरे ।

प्रधानमन्त्री ओलीले महासभाको उच्चस्तरीय सत्रमा नेपालका तर्फबाट सम्बोधन गर्ने कार्यक्रम रहेको छ । महासभामा सहभागी हुँदै उनले जलवायु परिवर्तन, दिगो विकास, शान्ति स्थायित्व, आर्थिक वृद्धिलगायतका विविध अन्तर्राष्ट्रिय मुद्दाहरूमा नेपालको धारणा प्रस्तुत गर्ने अपेक्षा गरिएको छ ।

यसैगरी उनले महासभाको साइडलाइनमा विभिन्न विश्व नेताहरूसँग द्विपक्षीय भेटघाट गर्ने कार्यक्रम समेत रहेको छ । संयुक्त राष्ट्रसंघको वार्षिक महासभामा विश्वका राष्ट्र प्रमुख र उच्चस्तरीय प्रतिनिधिहरूले सहभागिता जनाउँछन् । यस अवसरमा प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय समुदायसामु नेपालको शान्ति, विकास, र समृद्धिको यात्रा, कोभिड–१९ महामारीपछिको पुनःउत्थान प्रयास र नेपालको परराष्ट्र नीतिमा आधारित कूटनीतिक मुद्दाहरूलाई प्राथमिकतामा राखेर आफ्नो सम्बोधन गर्ने सचिवालयले जानकारी दिएको छ ।

प्रधानमन्त्रीको न्युयोर्क भ्रमणले नेपालको अन्तर्राष्ट्रिय भूमिका सुदृढ गर्न र द्विपक्षीय सम्बन्धहरूलाई थप सशक्त बनाउन महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा लिइएको छ । नेपालले जलवायु परिवर्तन र दिगो विकासमा आफ्नो प्रतिबद्धता पुनः व्यक्त गर्ने अवसर पनि पाउनेछ ।



प्रतिक्रिया दिनुहोस !