५ आश्विन २०८१, शनिबार

असोज १२ मा काठमाडौँ म्याराथनको १६ औं संस्करण

प्रकाशित मिति :  21 September, 2024 10:11 pm


काठमाडाैँ । सन् २००७ देखि शुरुवात भएको काठमाडौँ म्याराथनको १६ औं संस्करण आगामी असोज १२ गते हुने भएको छ । 
काठमाडौँ म्याराथन आयोजकले शनिबार नेपाल खेलकुद पत्रकार मञ्चमा पत्रकार सम्मेलन आयोजना गर्दै १६औं संस्करणको बारेमा जानकारी दिएको हो ।

यसपल्ट १६ देशका ६६ अन्तर्राष्ट्रिय धावकसँगै कुल तीन हजार भन्दा बढीले काठमाडौं म्याराथनमा चुनौती प्रश्तुत गर्ने काठमाडौं म्याराथनका मुख्य आयोजक निलेन्द्रराज श्रेष्ठले जानकारी दिए । म्याराथनमा एक सय ७० धावकले सहभागिताका लागि नाम दर्ता गराइसकेका छन् । हाफ म्याराथनमा भने पाँच सय ५० ले धावकले चुनौती प्रश्तुत गर्ने अहिलेसम्म टुङ्गो लागेको छ । 

त्यस्तै सरकारी र निजी गरेर ६० भन्दा बढी विद्यालयका छात्र छात्राले पाँच किलोमिटर दौड र तीन किलोमिटर खुला दौडमा प्रतिस्पर्धा गर्नेछन् । फेमिली रनमा १९ परिवारको सहभागिता रहनेछ । काठमाडौं म्याराथनका मुख्य आयोजक श्रेष्ठले दौडका बेला ट्राफिक व्यवस्थापन नै सबैभन्दा ठूलो चुनौती रहेको बताए । उनले दौडका बेला ट्राफिक व्यवस्थापनका लागि सम्बन्धित निकायसँग छलफल भइरहेको पनि बनाए । म्याराथन र हाफ म्याराथन दौडमा इलेक्ट्रिक टाइमिङ प्रयोग हुने आयोजकले जनाएको छ । 

यो प्रविधिको प्रयोगले धावकलाई अन्य अन्तर्राष्ट्रिय प्रतियोगितामा छनोटका लागि पनि सहयोग पुग्ने विश्वास छ । दौडमा चार सयभन्दा बढी स्वंयसेवक तथा टेक्निकल अफिसियलको सहभागिता रहनेछ ।



प्रतिक्रिया दिनुहोस !