६ आश्विन २०८१, आइतबार

पूर्वसभामुख घर्तीले फिर्ता गरे बिग्रिएको गाडी, प्रदेश सरकारको सुविधा कटौतीमा असन्तुष्टि

गाडी राप्ती मोटर्स प्रालि भालुवाङमा नम्बर प्लेट निकालिएको अवस्थामा राखिएको छ
प्रकाशित मिति :  22 September, 2024 2:45 pm


दाङ । ‘चाहिँदाको भाँडो नचाहिँदाको ठाँडो’ भन्ने नेपाली उखानलाई लुम्बिनी प्रदेशका पूर्वसभामुख पूर्णबहादुर घर्तीले चरितार्थ गरिदिएका छन् । प्रदेश सरकारले पूर्व विशिष्ट पदाधिकारीहरूको सुविधा कटौति गर्ने निर्णय गरेसँगै रुष्ट बनेका पूर्व सभामुख घर्तीले सरकारबाट लिएको गाडी कामबिहीन बनाएर फर्काएका छन् ।

कार्यकाल सकिएसँगै प्रदेश सरकारबाट २०७९ माघ ५ गते बुझी लिएको लु१झ ४४४ (हालको लु१झ १३००) नम्बरकाे गाडी बिग्रेको अवस्थामा टोचनको सहायताले तानेर भालुवाङस्थित ग्यारेजमा थन्काएर राखिएको छ । गाडी रुपन्देहीको सैनामैनामा बिग्रेको र उक्त गाडी राप्ती मोटर्स प्रालि भालुवाङमा नम्बर प्लेट निकालिएको अवस्थामा राखिएको छ ।

पूर्व सभामुखले प्रयोग गरेको गाडी बिग्रेको अवस्थामा फिर्ता आएको प्रदेश सभाले जानकारी दिएको छ । प्रदेश सभाका सचिव दुर्लभकुमार पुन मगरले गाडी बिग्रेको अवस्थामा फिर्ता आएको र मर्मतका लागि ग्यारेजमा रहेको जानकारी दिए । गाडी बिग्रनुको कारण खुलाउन नचाहेका सचिव पुन मगरले लुम्बिनी सञ्चारसँग ठाडो शैलीमा गाडी बिग्रनु स्वाभाविकै भएको बताए।

“पूर्व सभामुखज्यूले सरकारसँग लिएको गाडी फिर्ता गर्नुभएको छ । गाडी मर्मतका लागि ग्यारेजमा पठाएका छौं”, सचिव पुनले भने, “गाडी बिग्रनु बन्नु स्वाभाविक कुरो हो । बिग्रेको गाडी बन्छ फेरि अर्कोले प्रयोग गर्छ ।” गाडीका बारेमा संवाददाताकाे चासोमा खुल्न नचाहेका सचिव पुनले गाडी फिर्ता भएको मिति र गाडी नम्बर समेत खुलाउन चाहेनन् ।

“गाडी फिर्ता भएको छ । चार/पाँच दिन पहिले जस्तो लाग्छ गाडी आएको छ । पूर्व सभामुख ज्यूले प्रयोग गरेको गाडी बनाउन दिएका छौं”, सचिव पुनले यति भन्दै सम्पर्क बिच्छेद भए ।

बिग्रिएको गाडीको विषयमा चासो राख्दा राप्ती मोटर्स प्रालिले रेडियटर्सको समस्या भएको र सामग्री अभावका कारण मर्मत गर्न समस्या भएको प्रतिक्रिया दिएको छ । के कारणले रेडियटर्स बिग्रन्छ ? भन्ने संवाददाताको जवाफमा खुल्न नचाहँदै प्रालिका प्रोप्राइटर केपी पन्थीले भने, “रेडियटर्सको सामान मगाएको छु । सामान आएपछि गाडी बनाएर पठाउँछु ।”

के हो रेडिएटर र कसरी बिग्रन्छ ?
सवारी साधनमा रेडिएटर इन्जिनको कूलिङ प्रणालीको एक महत्त्वपूर्ण हिस्सा हो, जसले इन्जिनलाई चिसो बनाएर यसको तापक्रमलाई नियन्त्रणमा राख्न मद्दत गर्दछ। इन्जिनले इन्धन जलाउँदा अत्यधिक तातो उत्पन्न हुन्छ, जसलाई कूल्यान्ट नामक द्रवले शोषण गर्छ। तातिएको कूल्यान्ट रेडिएटरमा प्रवेश गर्छ, जहाँ यसले विशेष नलीहरूमा बगेर बाहिरी हावासँग तातो विनिमय गर्छ।

रेडिएटरको पातलो धातुका पखेटाहरूले तातोलाई छिटो चिसो बनाउने काम गर्छन्। यस प्रक्रियामा बाहिरी हावा वा रेडिएटर पंखाको सहायताले तातोलाई चिस्याइन्छ, र पुनः चिसिएको कूल्यान्ट इन्जिनमा फर्काइन्छ। यसरी, इन्जिनलाई अधिक गर्मी हुनबाट जोगाउन रेडिएटरले अत्यावश्यक भूमिका खेल्छ। रेडिएटरको यो कार्यले इन्जिनको प्रदर्शनलाई सुरक्षित र स्थिर राख्छ, जसले सवारी साधनको दीर्घकालीन प्रयोगमा पनि प्रभाव पार्छ।

यसरी बिग्रन सक्छ रेडिएटर

रेडियटरको पाइप, सिम, वा हौसिङमा प्वाल वा दरार भएपछि कुलन्ट बिस्तारै बाहिर चुहिन सक्छ । यसले कूल्यान्टको कमी भएर इञ्जिन ओभरहिट हुन सक्छ । यदि कूल्यान्टमा फोहोर वा मैल लाग्छ भने, त्यो रेडियटरमा अवरोध पु¥याउन सक्छ र कूल्यान्टको प्रवाहलाई रोक्छ । यसले इञ्जिनको तापक्रम नियन्त्रणमा कठिनाइ ल्याउँछ । रेडियटर फ्यान बिग्रिएमा वा फ्यान बेल्ट खुस्केमा हावा प्रवाह रोकिन सक्छ जसले गर्दा कूल्यान्ट चिसिन सक्दैन र इञ्जिन तात्न सक्छ । त्यतिमात्र नभएर रेडिएटरमा पानी वा कूल्यान्टको मिश्रण ठीकसँग सन्तुलित नरहेमा वा समय–समयमा बदल्न नमिल्दा जंग लाग्न सक्छ । यसले पनि रेडियटरको क्षमता घटाउन सक्छ ।

निर्णयको ‘साइडइफेक्ट’
लुम्बिनी प्रदेश सरकारले गत भदौ ६ गते तत्कालिन मुख्यमन्त्री कुलप्रसाद केसीले जाँदाजाँदै प्रदेशका पूर्व विशिष्ट पदाधिकारीलाई सुविधा दिने भनि गरेको निर्णय खारेज गरेको थियो । केसीको कार्यकालको पूर्वसन्ध्यामा २०७९ भदौ ३१ गतेको मन्त्रीपरिषद् बैठकबाट पूर्व मुख्यमन्त्री, पूर्व सभामुखलाई गाडी, इन्धन, मर्मत, चालक उपलब्ध गराउने निर्णय गरेको थियो । सरकारले निर्णय गर्नुभन्दा पहिला नै पूर्व मुख्यमन्त्री लिला गिरीले सुविधा फिर्ता गरिसकेका थिए । पूर्व मुख्यमन्त्री कुलप्रसाद केसीले भने निर्णय भएको झण्डै १ महिनापछि सुविधा फिर्ता गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !