६ आश्विन २०८१, आइतबार

न्यूयोर्कमा प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री मोदीबिच भेटवार्ता हुने

प्रकाशित मिति :  22 September, 2024 1:26 pm


काठमाडौँ । संयुक्त राष्ट्र संघको महासभामा भाग लिन न्यूयोर्क पुगेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता पक्का भएको छ ।

आइतबार अपराह्न पाँच बजेतिर ओली-मोदी भेट तय भएको परराष्ट्र मन्त्रालय उच्च स्रोतले बताएको छ । मोदी बसेको होटलमा पुगेर ओलीले करिब आधा घण्टा भेटवार्ता गर्ने तय भएको छ । यो भेट तय गर्नका लागि परराष्ट्रमन्त्री आरजु राणा देउवासहित परराष्ट्र मन्त्रालयका अधिकारी र संयुक्त राष्ट्र संघका नेपाल प्रतिनिधिसमेत सक्रिय थिए ।

ओली प्रधानमन्त्री भएपछि मोदीसँग हुन लागेको यो भेटलाई चासोका साथ हेरिएको छ । प्रधानमन्त्री ओलीले अन्य देशका राष्ट्र प्रमुख र सरकार प्रमुखहरूसँग पनि साइडलाइन भेटवार्ता गर्ने तय भएको छ । यसअघि भदौ तेस्रो साता बिम्स्टेक शिखर सम्मेलनको क्रममा ओलीले मोदीसँग भेट्ने तयारी गरे पनि थाइल्याण्डको राजनीतिक उतारचढावका कारण सम्मेलन स्थगित भएको थियो ।



प्रतिक्रिया दिनुहोस !