६ आश्विन २०८१, आइतबार

व्यवस्थित र स्वच्छ शहर बनाउने दिशामा अघि बढेका छौँः कार्यवाहक प्रधानमन्त्री सिंह

प्रकाशित मिति :  22 September, 2024 1:40 pm


काठमाडाैँ । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सरकार व्यवस्थित र स्वच्छ शहर बनाउने दिशामा अघि बढिरहेको बताएका छन् ।

आइतवार सिंहदरबारमा नेपाल जग्गा तथा आवास विकास महासंघका प्रतिनिधिहरूसँगको भेटघाटका क्रममा उनले घरजग्गा व्यवसायमा रहेका समस्याहरु पहिचान गर्नुपर्ने र नीति बनाएर अघि बढ्न आवश्यक रहेको बताएका हुन् । शहर व्यवस्थापनमा भएका समस्याहरू पहिचान गरी व्यवस्थित गर्ने काम भइरहेको बताए ।

उनले शहरको विकास गर्ने क्रममा सरकार मात्रै नभइ निजी क्षेत्रलाई पनि समावेश गरिने बताए । उनले सरकार र निजी क्षेत्रहरु सबै मिलेर अहिलेको व्यवस्थित, स्वच्छ शहर बनाउने गरी अर्थतन्त्र चलायमान बन्नेगरी अघि बढ्न आवश्यक रहेको बताए ।

कार्यवाहक प्रधानमन्त्रीसँगको भेटपछि नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष भेषराज लोहनीले शहरी ऐन चाँडो भन्दा चाँडो ल्याउनुपर्ने माग गरेको बताए । उनले २०६२ सालदेखि पटकपटक शहरी ऐन ल्याउने क्रममा विगत १८ वर्षमा धेरै प्रयास भएपनि ऐन आउन नसकेको बताए ।उनले जग्गा तथा आवास विकास निजी क्षेत्रको सहकार्यमा गर्ने प्रतिवद्धता भइसकेकाले ल्याण्ड पुलिङ, हाउजिङ पुलिङ जस्ता विषय निजी क्षेत्रको सहभागितामा गराउनुपर्ने माग गरेको बताए ।

विदेशीलाई २० प्रतिशतसम्म अपार्टमेण्टहरू खरिद गर्न पाउने व्यवस्था पटक पटक पास गरेपनि कार्यान्वयनमा नआएको भन्दै कार्यवाहक प्रधानमन्त्री सिंहको ध्यानाकर्षण गराए ।

अध्यक्ष लोहनीले हालसम्म ७२ वटा अपार्टमेण्ट रहेको उल्लेख गर्दै अपार्टमेण्टका कमन स्पेस र ल्याण्ड्ज डेभलपरहरूकै नाममा झुण्डिएर रहेको भन्दै आवास धनीहरूको नाममा ट्रान्सफर हुनुपर्ने माग गरे ।



प्रतिक्रिया दिनुहोस !