७ आश्विन २०८१, सोमबार

जनगणनामा कोही पनि नछुटुन् भन्नेकुरामा सचेत हुन सरकारलाई सांसदहरूको सुझाव

प्रकाशित मिति :  23 September, 2024 2:50 pm


काठमाडाैँ । सांसदहरूले जनगणनामा कोही पनि नछुटून भन्नेकुरामा सचेत हुन सरकारलाई आग्रह गरेका छन् ।

सोमवार प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको बैठकमा बोल्दै नेपाली काँग्रेसकी सांसद जावेदा खातुन जागा, नेकपा (एमाले) का सांसद ईश्वरबहादुर रिजालले जनगणनालाई तथ्यपरक बनाउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।

काँग्रेस सांसद खातुनले जनगणनामा कोही पनि नछुटुन् भन्ने कुरामा सरकार गम्भिर नबन्दा धेरै नागरिकहरुले आफ्नो उपस्थिति राज्यमा देखाउन सक्ने अवस्था नभएको बताए । उनले मुस्लिम समुदायको समेत गणना तथ्यपरक नभएको जिकीर गर्दै त्यसतर्फ सरकारलाई ध्यान दिन पनि आग्रह गरे ।

जनगणना तथ्यपरक नहुँदा पछाडि परेका विभिन्न जाति र समुदायका नागरिकहरुले राज्यले दिने अवसरबाट समेत वञ्चित हुनुपरेको सांसद खातुनको भनाई थियो । 

एमालेका सांसद रिजालले विपद्मा परेका बस्तीहरूको तथ्यांक ल्याउन सरकारलाई दबाब दिए ।उनले जलवायु परिवर्तनका कारण बस्तीमा जोखिममा पर्ने गरेकाले उनीहरूको सुरक्षाका लागि पनि सरकारले ती ठाउँहरूको गणना गर्न ढिलाई गर्न नहुने बताए । सांसद रिजालले नागरिकको पहिचान गर्ने र उनीहरुको आवश्यक्तालाई सम्बोधन गर्ने नीति, कार्यक्रम र बजेट तय गर्न पनि जनगणनालाई भरपर्दो र विश्वसनीय बनाउनुपर्ने आवश्यकता औंल्याए ।

सांसद रिजालले विभिन्न सीप, कला जानेहरूलाई पनि साक्षरता भनेर दर्ज गर्न पनि सरकारलाई सुझाव दिए ।



प्रतिक्रिया दिनुहोस !