७ आश्विन २०८१, सोमबार

सांसदहरू नआएपछि सोमवारको संसदीय सुनुवाई समितिको बैठक स्थगित

प्रकाशित मिति :  23 September, 2024 3:52 pm


काठमाडाैँ ।संसदीय सुनुवाई समितिको आजको बैठक पनि स्थगित भएको छ । सोमवार श्रीलंकाका लागि प्रस्तावित राजदुत रामकृष्ण भट्टराईको नाम पारित गर्ने वा अस्वीकार गर्ने भन्ने निर्णय लिन बसेको बैठक आवश्यक सांसदहरूको अनुपस्थितिले स्थगित भएको हो ।

यसअघि बाँकी १६ जना विभिन्न देशका लागि प्रस्तावित राजदुतको नाम अनुमोदन गरेपनि श्रीलंकाका लागि प्रस्तावित राजदुत भट्टराईको स्नातक तहको सर्टिफिकेट उपलब्ध नगराएको भन्दै नाम अनुमोदन गरिएको थिएन । यसअघि आईतवारका लागि बोलाइएको बैठक पनि स्थगित गरिएको थियो ।

नाम स्वीकृत\अस्वीकृत गर्न समितिमा रहेका दुई तिहाई बहुमत सांसदहरुको उपस्थिति अनिवार्य हुन्छ । आज (सोमवार) बसेको बैठकमा समितिमा रहेका १५ सांसदमध्ये ८ जना मात्रै उपस्थित भएकाले निर्णय लिन नसकिएको समिति सभापति ईश्वरीदेवी न्यौपानेले बताए । दुई तिहाईका लागि समितिमा १० जना सदस्य अनिवार्य उपस्थिति हुनुपर्छ । उनले आजको बैठक स्थगित भएको र मंगलवार बिहान ९ बजे बस्ने जानकारी दिए ।

गत बैठकमा समितिले श्रीलंकाका लागि प्रश्तावित राजदुत रामकृष्ण भट्टराईको स्नातक तहको सर्टिफिकेट मागेको थियो । जसमा हालसम्म पनि भट्टराईले सर्टिफिकेट नदिएको बैठकमा उपस्थित एक सांसदले बताए । सरकारले राजदुतमा सिफारिस गरेको (भोलि) मंगलवार ४५ दिन पुग्ने भएकाले भोलि नै राजदुत भट्टराईको नाम अनुमोदन गर्ने वा नगर्ने भन्ने समितिले टुंगो लगाउनेछ ।



प्रतिक्रिया दिनुहोस !