७ आश्विन २०८१, सोमबार

बालबालिकामा हुने क्यान्सरको उपचारका लागि चिकित्सक अभाव

प्रकाशित मिति :  23 September, 2024 4:14 pm


काठमाडाैँ । नेपालमा बालबालिकामा हुने क्यान्सर रोगको उपचारका लागि चिकित्सकहरूको अभाव रहेको पाइएको छ ।

बालबालिकामा हुने क्यान्सर रोगीहरूको संख्या बढ्दै गइरहेपनि त्यसको तुलनामा उपचार गर्ने विशेषज्ञहरू भने पर्याप्त नभएको चिकित्सक सनी सिपाईंले बताएका छन् । कान्ति बाल अस्पतालमा कार्यरत उनले न्युज एजेन्सी नेपालसँगको कुराकानीमा बालबालिकामा हुने क्यान्सर रोग उपचारका लागि चिकित्सकहरूको नै अभाव रहेको बताए ।

उनले कान्ति बाल अस्पतालमा पनि आफूसहित २ जना चिकित्सकको भरमा उपचार गर्नुपर्ने बाध्यात्मक अवस्था रहेको बताए । चिकित्सक सिपाईंले सरकारले क्यान्सर अस्पतालहरुको स्तरोन्नति गरेर यसको जाँचका लागि बाहिरको भर पर्ने अवस्थाको अन्त्य गर्नुपर्ने आवश्यकता पनि औंल्याए । 

बालिबालिकाहरुमा धेरैजसो ब्लड क्यान्सर देखिएको विभिन्न अध्ययनहरुले देखाएको छ । करिव ६० प्रतिशत भन्दा बढी बालबालिकाहरुमा ब्लड क्यान्सर देखिएको चिकित्सक सिपाईंको भनाइ छ । उनले त्यसैगरी उनीहरुको बे्रने टयुमर, आँखा, नसा र मृर्गौलामा हुने क्यान्सर पनि क्रमशः देखिएको उपचारको क्रममा पाइएको पनि बताए ।

नेपालमा वार्षिक करिव १५ सयसम्म बालिबालिकाहरुमा क्यान्सर देखिने प्रक्षेपण छ । त्यही प्रक्षेपणको आधारमा सो रोगका लागि उपचारको व्यवस्था मिलाउने काम गरिएको छ । कान्ति बाल अस्पतालमा मात्रै सो रोग लागेका बालबालिकाहरु वार्षिक रुपमा करिव १६० देखि २ सयसम्म आउने गरेको अस्पतालले जनाएको छ । 

चिकित्सकहरूले सो रोगको उपचारका लागि नेपालमा करिव ८ लाख रुपैयाँसम्म खर्च हुने जानकारी गराएका छन् । चिकित्सक सिपाईंका अनुसार परीक्षणको लागि खासगरी भारत पठाउनुपर्ने भएकाले उपचार खर्च बढ्न सक्नेछ ।



प्रतिक्रिया दिनुहोस !