७ आश्विन २०८१, सोमबार

उपभोक्ता ठगीको आरोपमा जिम्बु थकालीलाई ३ लाख रुपैयाँ जरिवाना

प्रकाशित मिति :  23 September, 2024 4:17 pm


काठमाडाैँ ।वाणिज्य तथा आपूर्ति उपभोक्ता संरक्षण विभागले काठमाडौंस्थित शान्ति नगरको जिम्बु थकालीलाई ३ लाख रुपैयाँ जरिवाना गरेको छ ।

अंकित मूल्य भन्दा दोब्बर मूल्यमा मिनिरल वाटर बेचेको भन्दै विभागले जिम्बु थकालीलाई ३ लाख रुपैयाँ जरिवाना गरेको हो । जिम्बु थकालीले उपभोक्ताहरूलाई ३५ रुपैयाँ मूल्य पर्ने मिनिरल वाटरलाई १ सय रुपैयाँसम्म लिएको गुनासो आएसँगै विभागका महानिर्देशक राजन पौडेल सहितको टोलीले छड्के अनुगमन गरी रेष्टुरेण्टमा अनुगमन गरेको हो ।

महानिर्देशक पौडेलले जिम्बु थकालीले आफूलाई समेत ठगेको बताए । उनले रेष्टुरेण्टले पानीमा अंकित गरेको मूल्य भन्दा दोब्बर मुल्य लिएर उपभोक्ता ठगी गरेको आधारमा उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम हदैसम्मको कारबाही स्वरुप ३ लाख रुपैयाँ जरिवानासहित सचेत गराएको बताए । उनले रेष्टुरेण्टले अब पनि अंकित मूल्य भन्दा बढीमा पानी लगायतका कुनैपनि वस्तु बेचेको पाइएमा रेष्टुरेण्ट शिलबन्दी गर्ने बताए ।

उनले भने, “चाडपर्व लक्षित बजारमा ७ वटा टोली खटाएका छौं । भोलिदेखि अझ बढी टोली परिचालन गर्छौं । उहाँलाई अहिले ३ लाख रुपैयाँ जरिवाना गर्नुभएको छ । उहाँहरुले अब मूल्य भन्दा बढी मूल्यमा कुनैपनि सामान बेच्न पाउनुहुन्न । फेरि पनि त्यो गरेको पाइएमा रेष्टुरेण्ट शिलबन्दी गर्छौं । उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम रेष्टुरेण्टलाई अंकित मूल्य भन्दा बढी मूल्यको आधारमा ३ लाख रुपैयाँ जरिवाना गरेका हौं ।”

उनले चाडपर्व लक्षित विभागको ७ वटा टोली बजार अनुगमनमा रहेको बताए । उनले आवश्यकताका आधारमा उपभोक्ताहरु ठगीबाट जोगाउनको लागि विभागले बजार अनुगमनलाई तिब्रता दिएको बताए । काठमाडौं उपत्यकासहित मुलुकभर स्थानीय तहमार्फत बजार अनुगमनलाई तीव्र पारिएको पनि बताए ।



प्रतिक्रिया दिनुहोस !