७ आश्विन २०८१, सोमबार

सुविधासम्पन्न मुलपानी क्रिकेट मैदान बनाउने प्रक्रिया अगाडि बढेको छः राखेप सदस्यसचिव घिसिङ

प्रकाशित मिति :  23 September, 2024 6:16 pm


काठमाडाैँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले मुलपानी क्रिकेट मैदानलाई सुविधा सम्पन्न बनाउन डिपिर र खरिद प्रक्रिया अगाडि बढिसकेको बताएका छन् ।

त्रिपुरेश्वरस्थित राखेपमा नेपाल प्रिमियर लिग (एनपिएल) को हेल्प डेस्क उद्घाटनका अवसरमा सोमवार राखेप सदस्यसचिव घिसिङले राष्ट्रिय गौरवको आयोजनाका रूपमा सरकारले समावेश गरेलगत्तै सुविधासम्पन्न क्रिकेट स्टेडियम निर्माणका लागि डिपिआर तयार भएर गत भदौमा नै खरिद प्रक्रिया अगाडि बढेको बताएका हुन् ।

उनले निर्माण प्रक्रिया चरणवद्ध रहने र स्टेडियमको बिचमा रहेको बाटोलाई अन्य विकल्पमा सारिने बताए । साथै सदस्यसचिव घिसिङले बीचको बाटोलाई अन्य स्थानमा सारेपछि होस्टेल, इन्डोर ट्रेनिङ हल, स्विमिङ पुल, पारापिट, अण्डर ग्राउण्ड पार्किङ र फ्लड लाइट लगायत निर्माण गर्र्दै राष्ट्रिय गौरवकै आयोजनाका रूपमा अगाडि बढाउने बताए ।

टियु क्रिकेट मैदानमा फ्लड लाइट जडान गरिने प्रक्रिया सुरूमा राखेपले अगाडि बढाए पनि अहिले त्यो जिम्मेवारी शहरी विकास मन्त्रालयअन्तर्गत रहेको सदस्यसचिव घिसिङले बताएका छन् । सुरूका खरिद प्रक्रियामा उजुर परेपछि फ्लड लाइट जडानमा समस्या भएको उल्लेख गर्दैै राखेप सदस्यसचिवले अब शहरी विकास मन्त्रालयलाई जिम्मेवारी हस्तान्तरण भएकाले एनपिएल अगाडि त्यो बन्छ वा बन्दैन भन्ने बारे आफूलै केही भन्न नसक्ने बताए ।

सो अवसरमा सदस्यसचिव घिसिङले राखेपले सबै खेलको काम गर्न भएकाले नेपाल प्रिमियर लिगको तयारीमा प्रभाव नहोस् भनेर फास्ट ट्य्राकमा सहजता उपलब्ध गराउन एनपिएलको हेल्प डेस्क स्थापना गरिएको बताए । परिषद्को वर्तमान नियमित कार्यशैलीमा अपडेट गर्नपर्ने आवश्यकता देखिएको समयमा हेल्प डेस्कको राखेर सहजीकरण गरिएको सदस्यसचिव घिसिङको भनाइ छ । नेपालमा हुने प्रिमियर लिगलाई प्रोत्साहिन गर्न यस किसिमको कार्यक्रम राखिएको उल्लेख गर्दै अन्य संघले गर्ने लिगमा पनि यसै किसिमको सहयोग गर्ने स्पष्ट पारे ।

नेपाल क्रिकेट संघका सचिव पारस खड्काले एनपिएल हेल्प डेस्कले यसको आयोजनाका लागि सहजता प्रदान गर्ने आशा व्यक्त गर्दै यो कामले सबैमा सकरात्मक सन्देश प्रवाह हुने बताए । डेडिकेटेट डेस्कले एनपिएलको कार्यमा सहजता मिल्ने आशा व्यक्त गर्दै अब सबै प्रक्रिया वान वे सिस्टम अगाडि बढ्ने बताए ।

त्यसअघि राखेपका सदस्यसचिव टंकलाल घिसिङले रिबन काटेर नेपाल प्रिमियर लिग (एनपिएल) को हेल्प डेस्कको उद्घाटन गरेका थिए । सो अवसरमा घिसिसङले डिजिटल स्कोर बोर्ड कात्तिकभित्र निर्माण सम्पन्न हुने गरी काम अगाडि बढिरहेकको समेत बताए ।



प्रतिक्रिया दिनुहोस !