ललितपुर महानगरपालिकालाई विपद् व्यवस्थापनमा ‘नम्बर वान’ बनाउन चाहन्छौंः मेयर महर्जन
काठमाडाैँ ।ललितपुर महानगरपालिकालाई विपद् व्यवस्थापनमा पहिलो महानगरपालिका बनाउन चाहेको मेयर चिरिबाबु महर्जनले बताएका छन् ।
बुधवार ललितपुरमा आगलागि नियन्त्रण सचेतना अभियान शुभारम्भ गर्दै उनले सो प्रतिवद्धता व्यक्त गरेका हुन् । मेयर महर्जनले ललितपुरको महानगर क्षेत्रमा विपद् व्यवस्थापनका लागि ४ मिनेटभित्र आवश्यक दमकल लगायतका सामग्रीहरु पु¥याई सक्नेगरी योजना तय गरिएको पनि बताए ।हाम्रो उद्देश्य भनेको नेपालमा रहेको २९३ वटा नगरपालिकाहरुमध्ये विपद्मा ललितपुर महानगरपालिका पहिलो बनाउनु रहेको उनको भनाई थियो । मेयर महर्जनले तत्काल विपद् व्यवस्थापनका लागि आफ्नो तर्फबाट गर्नुपर्ने कामहरु राम्रोसँग अघि बढाएको दाबी समेत गरे ।
उनले विपद् व्यवस्थापनका लागि पुल्चोक दमकल सेन्टरलाई केन्द्र भागमा राखेर अन्य ठाउँमा पनि ४ वटा सवस्टेशनहरू बनाउने गरी अध्ययन गराइएको र सो कामलाई चालु आर्थिक वर्ष भित्रैबाट सुरू गर्ने समेत जानकारी दिए।
मेयर महर्जनले ललितपुर महानगरपालिकाले आफ्नो महानगर क्षेत्र भित्रको मात्रै नभई ललितपुर जिल्लाका सबै स्थानीय तहलाई पनि विपद् व्यवस्थापनमा सहयोग गर्ने लक्ष्य लिएको पनि बताए ।