रेल्वे सेवा विकासका लागि सरकार व्यवस्थित रूपमा अघि बढेको छः मन्त्री दाहाल
काठमाडाैँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले रेल्वे सेवा विकासका लागि सरकार व्यवस्थित रूपमा अघि बढेको बताएका छन् ।
बिहीवार जनकपुर—जयनगर रेल्वे सेवाको निरीक्षणका क्रममा उनले रेल्वे सेवालाई व्यवस्थित गर्नका लागि रेल्वे स्टेशनहरुको स्थलगत निरीक्षणका लागि आएको बताएका हुन् । बर्दिवाससम्मको सञ्जाललाई तुरुन्तै निर्माण गर्ने र बर्दिवासदेखि निजगढसम्मको रेल्वे सञ्जाललाई बिस्तार गरी फास्टट्रयाकसँग काठमाडौँलाई जोड्ने गरी तयारी गरिरहेको बताए ।
उनले सरकारले रेल्वे वासिङ सेन्टरको निर्माण गरिरहेको भन्दै वासिङ सेन्टरको निर्माणसँगै रेल्वे सञ्चालन घाटामा कमी आउने विश्वास व्यक्त गरे ।उनले भारतसँग केही सम्झौता गरेर मालवाहक रेल छिटै सञ्चालनमा ल्याउने पनि बताए । भारतसँग रेल्वे सञ्जाल जोड्ने कुराले व्यापारलाई पनि सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
नेपालको ट्रेन पनि अयोध्यासम्म जाने र भारतको ट्रेन पनि जनकपुरसम्म ल्याउन दिने सोच नेपालको रहेको बताए ।