१ जेष्ठ २०८२, बिहिबार
सुगम बन्दै सुस्ता क्षेत्र

सुस्ता जोड्न नारायणी नदीमा बन्यो झोलुंगे पुल

प्रकाशित मिति :  26 September, 2024 2:07 pm


नवलपरासी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सुस्तामा निर्माण भएको झोलुंगे पुलको अवलोकन गरेका छन्।

नवलपरासी बर्दघाट सुस्ता पश्चिमस्थित सुस्ता गाउँपालिका–५ मा रहेको नारायणी नदीमा निर्माण भएको त्रिवेणी महेशपुर (सुस्ता) मल्टिस्पान झोलुंगे पुलको आज राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्दै छन् । कार्यक्रममा सहभागी हुन पुगेका मुख्यमन्त्री आचार्यले झोलुंगे पुलको अवलोकन गरेका हुन् ।

नारायणी नदीमा बनेको झोलुंगे पुलको उद्घाटन साथै सुस्ता क्षेत्रमा एकीकृत राष्ट्रिय विद्युत प्रणालीबाट विद्युत आपुर्ती समेत शुभारम्भ गर्ने कार्यक्रम छ । नेपाल सरकार, शहरी विकास मन्त्रालय र उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको आयोजनामा कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रममा कार्यवहाक प्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंह, प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगर, उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्का, लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरलगायत प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य तथा स्थानीय तहका जनप्रतिनिधिहरु सहभागी हुने कार्यक्रम छ ।

झोलुंगे पुलले सुस्ता गाउँपालिका–५ को सकरदिनही र सोही वडाको सुस्ता गाउँलाई जोड्ने छ । सुस्ता क्षेत्रमा तीन सय ५० घरधुरीको बसोवास छ । यो पुल बन्नु अघि स्थानीयहरु डुंगाबाट जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यतामा थिए । बर्षायाममा उच्च वहाव हुँदा नदी तर्न जोखिमपूर्ण हुने गरेको थियो ।

डुंगा दुर्घटना हँुदा मानवीय क्षति समेत व्यहोर्नुपरेको थियो । एक हजार पाँच सय ७१ मिटर लामो झोलुंगे पुल भ्याट बाहेक २० करोड ९३ लाखको लागतमा निर्माण भएको हो । यो पुल बनेपछि सुस्तापट्टी उत्पादन हुने उखु र केरा दायाँ किनारमा ल्याउन र बजारको पहुँचमा सहजता हुने देखिएको छ । यो पुलको दायाँ किनारमा सकरदिनही र वायाँ किनारमा सुस्ता पर्दछ ।



प्रतिक्रिया दिनुहोस !