१६ कार्तिक २०८१, शुक्रबार

रेल्वे सेवा विकासका लागि सरकार व्यवस्थित रुपमा अघि बढेको छः मन्त्री दाहाल

प्रकाशित मिति :  26 September, 2024 2:26 pm


काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले रेल्वे सेवा विकासका लागि सरकार व्यवस्थित रुपमा अघि बढेको बताएका छन् ।

बिहीवार जनकपुर—जयनगर रेल्वे सेवाको निरीक्षणका क्रममा मन्त्री दाहालले रेल्वे सेवालाई व्यवस्थित गर्नका लागि रेल्वे स्टेशनहरुको स्थलगत निरीक्षणका लागि आएको जानकारी दिए।

बर्दिवाससम्मको सञ्जाललाई तुरुन्तै निर्माण गर्ने र बर्दिवासदेखि निजगढसम्मको रेल्वे सञ्जाललाई बिस्तार गरी फास्टट्रयाकसँग काठमाडौंलाई जोड्ने गरी तयारी गरिरहेको बताए ।
उनले भने, ‘रेल्वे सञ्जालको विकासका लागि हामी व्यवस्थित ढंगले अघि बढ्ने सोचेका छौँ । त्यस सन्दर्भमा हामी विभिन्न सडकहरुको आयोजनाहरुको स्थलगत निरीक्षण गर्नुका साथै रेल्वे स्टेशनहरुको अवस्थाको बारेमा जानकारी लिनका लागि र रेल चढेर नै इन्जोय गर्ने । जनकपुरबाट जयनगरसम्म जाने भनेर यहाँ रेल पनि चढ्ने भनेर आएका छौँ । बर्दिवाससम्मको सञ्जाललाई तुरुन्तै निर्माण गर्ने र त्यहाँदेखि निजगढसम्मको रेल्वे सञ्जाललाई बिस्तार गर्ने र फास्टट्रयाकसँग काठमाडौंलाई जोड्ने गरी तयारी गरिरहेका छौँ ।’

मन्त्री दाहालले सरकारले रेल्वे वासिङ सेन्टरको निर्माण गरिरहेको भन्दै वासिङ सेन्टरको निर्माणसँगै रेल्वे सञ्चालन घाटामा कमी आउने विश्वास व्यक्त गरे ।

भारतसँग केही सम्झौता गरेर मालवाहक रेल छिटै सञ्चालनमा ल्याउने उल्लेख गर्दै भारतसँग रेल्वे सञ्जाल जोड्ने कुराले व्यापारलाई पनि सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

उनले भने ‘भारत र नेपालबीचको सामानहरुको आदानप्रदानको कुरा भएको हुँदा भारतसँग पनि हामी केही विषयमा छलफल गर्छौं । त्यसपछि छिटै नै हामी मालवाहक रेल सञ्चालनको तयारीमा लागिरहेका छौँ । भारतसँग रेल्वे सञ्जाल जोड्ने कुराले हाम्रो व्यापारलाई पनि सहयोग गर्नेछ । सांस्कृतिक सम्बन्ध पनि छ । जनकपुरदेखि अयोध्यासम्मको यात्रा छ । पुरानो सांस्कृतिक सम्बन्ध रहेकाले उहाँहरुको प्रस्तावलाइ सकारात्मक ढंगले लिएका छौँ । नेपालको ट्रेन पनि अयोध्यासम्म जाने र उहाँहरुको ट्रेन पनि जनकपुरसम्म आउनुपर्छ भन्ने सोच हाम्रो छ । त्यो ढंगले दाहोरो प्रक्रियामा ट्रेन सञ्चालन गर्ने हाम्रो प्रश्ताव रहेको छ ।’

मन्त्रीले नेपालको ट्रेन पनि अयोध्यासम्म जाने र भारतको ट्रेन पनि जनकपुरसम्म ल्याउन दिने सोच रहेको बताए ।



प्रतिक्रिया दिनुहोस !