स्थानीय तहको उपचुनावका लागि उम्मेदवारी दर्ता मंसिर २ गते
काठमाडौँ । निर्वाचन आयोगले आगामी मंसिर १६ गतेका लागि तय भएको स्थानीय तहको उपनिर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ ।
बिहीबार आयोगले एक सूचना जारी गर्दै मंसिर २ गते बिहान १० देखि बेलुका ५ बजेसम्म उम्मेदवारी दर्ताको समय रहेको जानकारी दिएकाे हाे ।
त्यसानुसार मंसिर ३ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म उमेदवारको विरोधमा उजुरी दिन सकिनेछ । मंसिर ४ गते बेलुका ५ बजेसम्ममा मनोनयनपत्र र उजुरीउपर जाँचबुझ एवम् निर्णय गरिनेछ ।
सोही दिन बेलुका ५ देखि ६ बजेसम्ममा निर्वाचन अधिकृतको कार्यालयमा उमेदवारको नामावली प्रकाशन गरिने जनाइएको छ। स्थानीय तहका विभिन्न ४० पदमा उपनिर्वाचन हुन लागेको हो । जसमा जिल्ला समन्वय समिति प्रमुख २, गाउँपालिका अध्यक्ष २, नगरपालिका प्रमुख १, गाउँपालिका उपाध्यक्ष ४, नगरपालिका उपप्रमुख १, गाउँपालिका वडाध्यक्ष ९ र नगरपालिका वडाध्यक्ष २१ गरी जम्मा ४० पद छन् ।