११ आश्विन २०८१, शुक्रबार

देशभर वर्षा जारी, दुई दिन हिमाल र पहाडी भेगमा रात्रीवसमा यात्रा नगर्न आव्हान

प्रकाशित मिति :  27 September, 2024 6:17 am


काठमाडौँ। सातै प्रदेशमा हल्कादेखि भारी वर्षा भइरहेको छ । कतिपय स्थानमा धेरै भारी वर्षा समेत भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार शुक्रवार दिनभर कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ भने कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।

देशका तराई भू–भागका केही स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको विभागले जनाएको छ ।

शुक्रवार रातको समयमा पनि बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको जनाइएको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेकाले सचेत रहन आग्रह गरिएको छ ।

यसबिच असोज ११ (आज) र १२ (भोलि) देशका पहाडी तथा हिमाली जिल्लाहरूमा रात्रीकालीन बस सेवा स्थगित हुने भएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भारी मनसुनको जोखिमलाई ध्यानमा राख्दै रातको समयमा हुने सम्भावित दुर्घटनाबाट जोगाउन यस्तो निर्णय गरेको हो।

प्राधिकरणले किसनाहरूलाई पनि केही दिन धान नकाट्न आग्रह गरेको छ। यदि धान काटिसकेको भए सुरक्षित स्थानमा थन्काउनसमेत प्राधिकरणले आग्रह गरेको हो । जुनसुकै बेला जोखिम निम्तिसक्ने भन्दै खोज तथा उद्धारका लागि तीनवटै सुरक्षा निकाय र स्वयंसेवकहरूलाई तयारी अवस्थामा रहन प्राधिकरणले आग्रह गरेको छ।

शनिवार पनि वर्षा जारी रहने पूर्वानुमान छ । विभागका अनुसार बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

शनिवार दिउँसो गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ।

शनिवार राती गण्डकी र लुम्बिनी प्रदेशका थोरै तथा कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ।



प्रतिक्रिया दिनुहोस !