१२ आश्विन २०८१, शनिबार

जब मुख्यमन्त्रीको शिरमा ढल्कियो अल्लोको टोपी

“हामीले बनाएकाे टाेपी किनेर मुख्यमन्त्रीले लगाइदिनु भयाे, उहाँको यो कामले हामी उद्यमीहरुमा हौसला थपियो”
प्रकाशित मिति :  27 September, 2024 4:09 pm


दाङ । दाङ घोराही उपमहानगरपालिका–१४ निवासी प्रेमकुमारी पुनले अल्लोको धागोबाट हातले बुनेर कोट, टोपी, झोला, जुत्तालगायतका सामाग्री तयार पार्दै आएकी छिन् । आफूले तयार पारेका सामग्री बिक्रि गर्न मेला, महोत्सव, दिवसहरुमा समेत पुग्ने गर्छिन् ।

अल्लो र उलनबाट बनाएका सामग्री मान्छेहरुले मन पराएर किनेपछि प्रेमकुमारीमा बेग्लै खुसी छाउँछ । यसैक्रममा विश्व पर्यटन दिवसको अवसरमा प्रेमकुमारीले अल्लो र उलनबाट हातले बुनेर तयार पारिएको झोला, टोपी, कोट, जुत्तालगायत सामग्री बिक्रिका लागि स्टल राखिन् ।

जुन स्टलबाट लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले दुई वटा टोपी किने । “अहिलेसम्म नेता, मन्त्रीलाई टोपी बिक्री गरेको थिएन । कि त उपहार दिइन्थ्यो । तर, मुख्यमन्त्रीले टोपी किनेर लगाउनु भयो । उहाँको यो कामले हामी उद्यमीहरुमा हौसला थपियो”, खुसी हुँदै प्रेमकुमारीले भनिन्, “शिरको टोपी फेरेर हामीले बनाएको टोपी लगाउनु भयो । पाँच सय रुपैयाँ एउटा टोपीको मूल्य थियो । उहाँले दुई वटा किनेर लैजानु भयो ।”

२०६५ सालबाट अल्लोबाट कपडा बनाउन थालेकी प्रेमकुमारीले चिनारी महिला साझेदारी समूह निर्माण गरेर उद्यम चलाउँदै आएकी छिन् । “धेरै हौसला मिल्छ । किनेर लगाइदिँदा”, उनले भनिन्, “मुख्यमन्त्री ज्यूको यो सद्भावले हामी उद्यमीको छाति चौडा भयो ।”

पर्यटन दिवसको अवसरमा लुम्बिनी प्रदेशका उद्यमीले तयार पारेका स्थानीय उत्पादनका सामाग्रीहरु प्रदर्शनीमा राखिएको छ । थाकलबाट बनेका हस्तकलाको सामग्रीदेखि माटोबाट बनेका भाँडाहरु समेत प्रदर्शनीमा राखिएको थियो ।



प्रतिक्रिया दिनुहोस !