काठमाडौँ शिक्षालय ललितपुरले विद्यार्थीलाई स्काउट दीक्षा तथा बेल्ट प्रदान
काठमाडौँ । काठमाडौँ शिक्षालय ललितपुरले विद्यार्थीहरूलाई स्काउट दीक्षा तथा बेल्ट प्रदान गरेको छ । बिहीवार ललितपुरको इमाडोल स्थित विद्यालयमा स्काउट दीक्षा तथा बेल्ट ग्रेडिङ कार्यक्रमको आयोजना गरी प्रदान गरेको हो ।
नेपाली ओलम्पियन तेक्वान्दो खेलका स्टार खेलाडी दिपक विष्टको प्रमुख आतिथ्यतामा शिक्षालयले विद्यार्थीहरुलाई स्काउट दीक्षा तथा बेल्ट प्रदान गरेको छ । २०६१ सालमा ललितपुरको इमाडोल अग्रणी विद्यालयको रुपमा स्थापना भएको शिक्षालयले गुणस्तरीय शिक्षा प्रदान गर्नुका साथै युवा तथा बालबालिकाहरूको अन्तर्राष्ट्रिय अभियान स्काउटको नियमित कार्यक्रम गर्दै आएको छ ।
विद्यालयले खेलकुदमा रुचि राख्ने विद्यार्थीहरूका लागि खेलकुद गतिविधीमा पनि विशेष ध्यान दिने गरेको छ । पर्वतारोही तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाशराज पाण्डे विद्यालयमा स्काउट, खेलकुद तथा अन्य रचनात्मक क्रियाकलापलाई शिक्षालयले थप प्रवर्दन गरिरहेको बताए । उनले विद्यार्थीहरुको समग्र विकासका लागि उत्कृष्ट शिक्षाका साथै अतिरिक्त क्रियाकलापलाई पनि प्राथमिकता दिएको बताए ।
उनले विद्यालयले शिक्षाका साथै अतिरिक्त क्रियाकलापमा विद्यार्थीहरुको अधिकतम सहभागिता सुनिश्चित गरिने पनि जानकारी दिए । नेपाली ओलम्पियन तेक्वान्दो खेलका स्टार खेलाडी दिपक बिष्टले, खेलले युवा तथा बालबालिकाहरुलाई अनुशासनमा रहन मदत गर्ने बताए । उनले स्काउट अभियान पनि युवा तथा बालबालिकाहरुकै अन्तर्राष्ट्रिय अभियान भएको बताए । उनले विद्यालयका अध्यक्ष साहसिक खेल र पर्वतारोहणमा संलग्न व्यक्तित्व रहेकाले शिक्षालयका विद्यार्थीहरुले राम्रो शिक्षाको साथसाथै खेलकुदमा समेत प्राथमिकता दिने विश्वास व्यक्त गरे ।
विष्टले शिक्षालयमा विद्यार्थीहरुका लागि गुणस्तरीय शिक्षाको साथमा खेलकुद, स्काउट लगायत विद्यार्थीहरुको बहुआयामिक विकासका लागि सकारात्मक वातावरण रहेको पाएको बताए । उनले आफ्ना नानीबाबुहरुको लागि खेल क्षेत्रमा अभिभावकले लगानी बढाउन आवश्यक रहेको बताए । शिक्षालयका प्रधानाध्यापक प्रेमलता श्रेष्ठले अनुशासित खेलकुद र स्काउटिङ लगायत अतिरिक्त क्रियाकलापमा शिक्षालयले जोड दिएको बताइन् ।
कार्यक्रममा ब्याडमिन्टन खेलका ओलम्पियन खेलाडी प्रिन्स दाहाल र महालक्ष्मी नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष अमृत खत्री,महालक्ष्मी नगरपालिका वडा नम्बर ४ का वडा सदस्य विष्णु रोक्काका साथै महालक्ष्मी नगर स्काउट समितिका पदाधिकारीहरु पनि उपस्थित रहेका थिए । शिक्षालयमा अध्ययनरत ४६ जना विद्यार्थीहरुले स्काउट दीक्षा ग्रहण गरेका थिए । ६१ जना विद्यार्थीहरुले बेल्ट ग्रेडिङ प्रतियोगिताबाट प्राप्त नतिजा अनुसार तहगत बेल्ट पदोन्नती तथा प्रमाणपत्र पाए