१२ आश्विन २०८१, शनिबार

सडक सुरक्षा र महंगी नियन्त्रणमा ध्यान दिन सरकारलाई एमालेको ध्यानाकर्षण

प्रकाशित मिति :  27 September, 2024 4:41 pm


काठमाडाैँ । सत्तारुढ दल नेकपा एमालेले चाडपर्वमा सडक सुरक्षाका साथै बजार अनुगमनलाई तिब्रता दिन सरकारको ध्यानाकर्षण गराएको छ ।

शुक्रवार सिंहदरबारमा कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई भेटेर चाडपर्वहरु मनाएँदा जनताको हर्ष उल्लासमय वातावरणमा सहयोग पुर्‍याउन सरकारको ध्यानाकर्षण गराएको हो । चाडपर्वहरूमा आम नागरिकलाई सहज यात्रा, सहज खाद्यान्न आपूर्ति र व्यवस्थापन गर्न एमालेले माग गरेको छ ।

नेकपा एमालेको तर्फबाट केन्द्रिय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले दिएको ज्ञापन पत्र बुझ्दै कार्यवाहक प्रधानमन्त्री सिंहले सरकारलाई चाडपर्वको मुखमा गर्नुपर्ने कार्यहरूबारे घच्घच्याएकोमा खुशी प्रकट गरे । उनले सरकारको तर्फबाट नागरिकलाई सेवा पुर्‍याउने काममा कुनै कमजोरी नगर्ने प्रतिवद्धता जनाउँदै सरकार खाद्य सुरक्षा, सडक र यातायात व्यवस्थापनमा लागिपरेको बताए ।

ज्ञापनत्र बुझाउने क्रममा नेकपा एमालेका नेता एवं केन्द्रिय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागका प्रमुख खिमलाल भट्टराईले नेपाली जनताका महान पर्वहरू विजया दशमी, तिहार, नेपाल संवत्, छठ र इद जस्ता चाडहरु धमाधम आइरहेको भन्दै जनताले धुमधामसँग मनाउने वातावरण सिर्जना गर्न सरकारको ध्यानाकर्षण गराए । दशैँ र तिहारमा संघीय राजधानी काठमाडौंबाट र देशका मुख्य शहरहरूबाट अत्याधिक रूपमा गाउँ फर्किने भएकाले तत्काल सडक मर्मत गर्न आग्रह गरे ।

यातायातको साधन अभाव हुन नदिन वैकल्पिक उपायको समेत बन्दोबस्त गर्न सरकारको ध्यानाकर्षण गराए । सुरक्षा प्रवन्धको निम्ति ठाउँठाउँमा प्रहरी र यातायातको सहज व्यवस्थापनको निम्ति ट्राफिकको यथोचित परिचालन गर्न पनि माग गरे ।

एमालेले चाडवाड मनाउन गाउँ फर्किनेहरुका लागि यातायातको सहज व्यवस्थापन गर्न, सडकका होटलहरुमा पाइने खाना खाजाहरु स्वस्थ एवं गुणस्तरीयताका लागि अनुगमनलाई प्रभावकारी बनाउन र चाडपर्वहरूमा हुनसक्ने कालोबजारी र महंगी आदिको नियन्त्रण गर्न तथा गुणस्तरीय र सुपथ मूल्यका पसलहरू देशभर जनपहुँचका ठाउँहरूमा सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।



प्रतिक्रिया दिनुहोस !