१२ आश्विन २०८१, शनिबार

अविरल वर्षा जारी, १०१ वर्षामापन केन्द्रहरूमा नाघ्यो सतर्कता तह

प्रकाशित मिति :  28 September, 2024 8:11 am


काठमाडौँ। शुक्रवारदेखिको अविरल वर्षा जारी छ । रातभर निरन्तर पानी परिरहेकोमा शनिवार पनि जारी रहने जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान छ ।

बिहान ६ः२० को मापन अनुसार देशभरका हाल सञ्चालित २६९ स्वचालित (रियलटाइम) केन्द्रहरू मध्ये १०१ केन्द्रहरूमा सतर्कता तह भन्दा बढी वर्षा भएको छ।

विभागले १ घण्टामा ६०, ३ घण्टामा ८०, ६ घण्टामा १००, १२ घण्टामा १२० र २४ घण्टामा १४० मि। मि। भन्दा बढी वर्षा भएमा बाढी तथा पहिरोको लागि अलर्ट जारी गर्ने गर्दछ।

विभागका अनुसार शनिवार दिउँसो कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै स्थानहरूमा तथा सुदुरपश्चिम प्रदेशका केही स्थानहरुमा मेघ गर्जन–चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुनेछ।

बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षा हुनेछ भने बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा धेरै भारी र एक–दुई स्थानहरुमा अति भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ ।

विभागका अनुसार गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेकाले थप सतर्कता अपनाउन पर्नेछ।

अविरल वर्षा शनिवार राती पनि जारी रहनेछ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन–चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

शनिवार राती बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा तथा कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ।



प्रतिक्रिया दिनुहोस !