१२ आश्विन २०८१, शनिबार
लुम्बिनीको प्रकोप अपडेट

प्रदेशका विभिन्न जिल्ला जोड्ने सडकमा पहिरो : विपद् प्रतिकार्यमा जुट्न अपिल

प्रकाशित मिति :  28 September, 2024 12:26 pm


दाङ । अविरल वर्षाका कारण लुम्बिनी प्रदेशका विभिन्न जिल्ला जोड्ने सडक खण्डको एक दर्जन बढी स्थानमा पहिरो झरेको छ ।

पहिरोका कारण आवागमन प्रभावित भएको छ, भने सडक सुचारु गराउन सुरक्षाकर्मी र स्वयंमसेवकहरु परिचालन भएको लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार प्यूठान–भालुबाङ सडक खण्डको माण्डवी गाउँपालिका–१ गर्जेनीस्थित सिमलचौर, यस्तै सरुमारानी गाउँपालिका–४ पाखुरी खोलामा पहिरो झरेको छ । नौवहीनी गाउँपालिका–७ कालिमाटीस्थित मैरामारेदेखि बल्लेखोला जाने भित्री सडकमा पहिरो झरेको छ ।

त्यस्तै अर्घाखाँचीस्थित पाणेनी गाउँपालिका–२ सालझण्डी–ढोरपाटन सडक, गोरुसिंगे–सन्धिखर्क सडक दुई स्थानमा पहिरो झरेको छ । रोल्पाको सहिद मार्गको तीन स्थानमा पहिरो झरेको छ । पाल्पा जिल्लाको सिद्धार्थ राजमार्ग, दाङ–सल्यान राप्ती राजमार्ग, तुलसीपुर–घोराही सडक खण्डको सेवार खोलामा जलसतह बढेकाले आवागमनमा समस्या परेको छ ।

त्यस्तै पहाडी जिल्ला अर्घाखाँचीका केही स्थानमा पहिरोका कारण बस्ती जोखिममा परेपछी सुरक्षित स्थानमा सारिएको छ । सन्धिखर्क–११ धारामाथी बस्ने जुद्ध बहादुर नेपालीको घर अविरल वर्षाको कारण जोखिममा परेपछि परिवारका सदस्यलाई सुरक्षित स्थानमा सारिको छ । शितगंगा नगरपालिका–७ जुवाकोट बस्ने दिलबहादुर सार्कीको टिनले छाएको २ तले कच्चीघर छेउमा जमिन भासिनुका साथै घरमा क्षती पुगेको छ । आठ जनाको परिवारलाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

यसैबिच लुम्बिनी प्रदेश सरकारले विपद् प्रतिकार्य योजनामा जुट्न अपिल गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले अविरल वर्षाका कारण निम्तन सक्ने विपद्को प्रतिकार्यमा जुट्न अपिल गरेका छन् । तीन वटै सुरक्षा निकाय, नागरिक स्वंयमसेवक तथा युवा वर्ग विपद् प्रतिकार्यमा खटिएको र सहयोग गर्न जनस्तरमा अपिल गरेका छन् ।

“जो जहाँ छौं सुरक्षित बसौं । आफ्नो आसपासमा भइरहेका प्राकृतिक विपद्को बारेमा चनाखो बनौं । कही कतै विपद् आइपरेको खण्डमा आफू सुरक्षित भएर खोज तथा उद्धारको कार्यमा पनि परिचालित हुन अपिल गर्दछु”, मुख्यमन्त्री आचार्यले भने, “यो विपद्को वेलामा एकले अर्कालाई सहयोग गर्न जरुरी छ । सहयोग र हातेमालोबाट विपद्बाट हुने क्षतीलाई कम गर्न सकिन्छ ।”



प्रतिक्रिया दिनुहोस !