१२ आश्विन २०८१, शनिबार
लुम्बिनीको विपद् अपडेट

चालु आर्थिक वर्षमा विपद्का कारण ७० जनाको मृत्यु

प्रकाशित मिति :  28 September, 2024 12:43 pm


दाङ । लुम्बिनी प्रदेशमा बिपद्का कारण ७० जनाको मृत्यु भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको हालसम्म बाढीका कारण ९ जना, पहिरोमा परि ८ जना, आगलागीमा परि १ जना, चट्याङमा परि ४ जना र डुबेर ४८ जना गरी ७० जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार चालु आर्थिक वर्षमा प्रदेशमा बाढीका २८ वटा घटना घटेका छन् । जसमा परेर ९ जनाको मृत्यु भएको छ, भने ४ जना घाइते र ८ जना बेपत्ता छन् ।

त्यस्तै पहिरोका २१ वटा घटना घटेको मन्त्रालयले जनाएको छ । जसमा परेर ८ जनाको मृत्यु भएको छ, भने ६ जना घाइते भएका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार आगलागीका ४८ वटा घटना भएका छन् ।
जसमा परेर एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।

त्यस्तै चट्याङका १७ वटा घटना भएका छन् । जसमा परेर ४ जनाको मृत्यु भएको छ, भने २२ जना घाइते भएका छन् । त्यस्तै पानीमा डुबेर ४८ जनाको मृत्यु भएको छ, भने ७ जना घाइते र एक जना बेपत्ता छन् । मानव सिर्जित विपद्का घटनाहरुले मानवीय क्षती बढी गराएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव राजेन्द्रप्रसाद पन्थीले बताए ।

लुम्बिनी प्रदेश भूकम्प, बाढी, पहिरो, आगलागी, चट्याङलगायतका विपदको उच्च जोखिममा छ । विपदले सबैलाई समान रुपमा असर गरे पनि यसबाट पर्ने प्रभाव व्यक्ति, परिवार र समुदायको उत्थानशिलता, अनुकुलन क्षमता र संकटासन्नताको आधारमा असमान हुने, विद्यमान अवस्थामा सामाजिक, सांस्कृतिक, भौगोलिक, आर्थिक र राजनीतिक पहुँचमा कमी भएका समुदाय तुलनात्मक रुपमा बढी प्रभावित हुने अवस्था छ ।

यस्तो अवस्थाबाट पार पाउनका लागी लुम्बिनीमा विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापनमा लैंगिक समानता, अपांगता तथा सामाजिक समावेशीकरण रणनीति कार्ययोजना समेत निर्माण गर्न थालिएको छ ।



प्रतिक्रिया दिनुहोस !