१३ आश्विन २०८१, आइतबार

विपद् प्रतिकार्यलाई सशक्त बनाउँदै लुम्बिनी प्रदेश सरकार

सुरक्षा निकाय र समुदायबीच सुदृढ सहकार्य
प्रकाशित मिति :  29 September, 2024 6:11 am


दाङ । लुम्बिनी प्रदेशमा विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउन सुरक्षा निकाय र समुदाय परिचालन गरिएको छ । प्रदेशका १२ जिल्लाभित्र बाढी, पहिरो जस्ता प्राकृतिक विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न सुरक्षा निकाय र समुदायका नागरिकहरु स्वयंमसेवकका रुपमा परिचालन भएको र जसबाट क्षति न्यूनीकरण गर्न भूमिका खेलेको मुख्यमन्त्री चेतनारायण आचार्यले बताए ।

प्रभावकारी खोज तथा उद्दार कार्यमा सुरक्षा निकाय र स्थानीय समुदायका बिच सुदृढ सहकार्यले क्षति न्यूनीकरण गर्न मद्दत पुगेको हो । “यो विपद् को घडीमा एकले अर्काको मुख ताकेर बस्ने बेला होइन । जसले जहाँ जसरी सहयोग गर्न सक्छ, त्यसैगरी परिचालन हुन जरुरी छ”, उनले भने, “नागरिकहरु पहिलो रेस्पोन्डर भएकाले सुरक्षित स्थानको पहिचान गरेर सबै नागरिकलाई त्यहाँ सम्म पु¥याउन सुरक्षा निकायलाई सहयोग गर्न सकिन्छ । यो भूमिका समुदायका नागरिकले निभाउनु भएको छ ।”

यस्तै आपतकालिन उद्दारटोलीमार्फत् अवरुद्ध सडक सुचारु गरिएको, बाढी तथा पहिरोमा परेकाहरुको खोज तथा उद्दारको काम भएको छ । तीन वटै सुरक्षा निकायका प्रमुखहरुसँग निरन्तर संवाद भएको र अवरुद्ध सडक सुचारु गर्न आपतकालिन उद्दार टोली खटिएको मुख्यमन्त्री आचार्यले बताए ।

जिल्ला सदरमुकाम जोड्ने सडकहरु सुचारु भएका छन् । भालुवाङ–प्युठान सडक खण्ड, गोरुसिङ्गे–अर्घाखाँची, दाङ–सल्यान राप्ती लोकमार्ग सुचारु भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

रोल्पा जोड्ने सहिद मार्ग, पाल्पाको रानी महल जोड्ने, दाङ–प्युठान जोड्ने भित्री सडक, गुल्मीको छत्रकोटको भित्री सडकमा झरेको पहिरो पन्छ्याउने काम चलिरहेको छ । तराईका जिल्लामा सडक सुचारु अवस्थामा छ ।

विपद् भएको ठाउँमा तुरुन्त उद्दारटोली परिचालन भएको र स्थानीय नागरिकहरुले स्वयंमसेवकको समेत भूमिका निर्वाह गरेका छन् । बाढी र पहिरोको जोखिममा रहेका नागरिकहरुलाई सुरक्षित स्थानमा सारिएको समेत मुख्यमन्त्री आचार्यले बताए ।

“नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाका प्रमुखहरुसँग निरन्तर सम्पर्कमा छु । जहाँ विपद् आईपर्छ त्यहाँ तत्कालै सुरक्षाकर्मी परिचालन गरिन्छ”, उनले भने, “समुदाय स्तरबाट पनि खोज तथा उद्दारको काम गर्न सकिन्छ । सुरक्षाकर्मीको समन्वयमा स्थानीय बासिन्दा पनि स्वयंसवेकको रुपमा परिचालन हुनुपर्छ, हाम्रो प्रदेशमा यो सहकार्य भएको पनि छ ।”



प्रतिक्रिया दिनुहोस !