१३ आश्विन २०८१, आइतबार

अविरल वर्षा र बाढीबाट ठूलो क्षति, प्रचण्डद्वारा सरकारको उदासीनताप्रति आक्रोश

प्रकाशित मिति :  29 September, 2024 11:53 am


काठमाडौँ । केही दिनयताको अविरल वर्षाका कारण मुलुकभर बाढी र पहिरोले ठूलो जनधनको क्षति पुर्याएको छ। बिपत्तिमा परी अहिलेसम्म झण्डै एक सयभन्दा बढी नागरिकको ज्यान गएको पुष्टिसँगै, हजारौं मानिस घरवारविहीन भएका छन्। प्राकृतिक विपत्तिबाट थुप्रै नागरिक बेपत्ता र घाइते छन् भने निजी सम्पत्तिसहित सार्वजनिक पूर्वाधारमा पनि ठूलो क्षति भएको छ।

यस विपत्तिको सन्दर्भमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक प्रेस वक्तव्य जारी गर्दै मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै, उनले बेपत्ता नागरिकको खोजी र विस्थापितहरूको पुनस्र्थापनाका लागि सरकारलाई गम्भीर ध्यान दिन आग्रह गरेका छन्।

प्रचण्डले पछिल्लो प्राकृतिक विपद्का लागि सरकारको तयारीमा ठूलो कमी रहेको भन्दै असन्तोष व्यक्त गरेका छन्। उनका अनुसार, बाढी पहिरोको जोखिम पहिचान गर्ने चेतावनी पहिले नै प्राप्त भएको भए पनि सरकारबाट समयमा प्रभावकारी पहल हुन नसक्दा ठूलो जनधनको क्षति भएको हो। “राजधानीमै उद्धारका लागि लामो समय प्रतिक्षा गर्दागर्दै बाढीमा बग्नुपर्ने पीडादायी अवस्था देखियो, यसले सरकारको चरम उदासीनता पुष्टि गर्दछ,” प्रचण्डले भनेका छन्।

प्रचण्डले आफ्नो पार्टीका नेता कार्यकर्तालाई उद्धार र पुनस्र्थापनामा निरन्तर लाग्न निर्देशन दिएका छन्।



प्रतिक्रिया दिनुहोस !