१३ आश्विन २०८१, आइतबार
लुम्बिनी प्रदेशकाे बाढी पहिरो अपडेट

प्रभावितलाई सुरक्षित स्थानमा सारियो, पुर्नस्थापनाको कार्य जारी

प्रकाशित मिति :  29 September, 2024 2:49 pm


काठमाडौं । लुम्बिनी प्रदेशमा बाढी र पहिरो प्रभावित एक सय ९ जना भन्दा बढी व्यक्तिलाई सुरक्षित स्थानमा सारिएको छ । सुरक्षाकर्मी र स्थानीय समुदायको सक्रियतामा पश्चिम नवलपरासी, पाल्पा, रुपन्देही, गुल्मी र रोल्पा जिल्लाका बाढीपहिरो प्रभावितहरुलाई सुरक्षित स्थानमा सारिएको हो ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विपद् प्रतिकार्य योजनालाई प्रभावकारी कार्यान्वयन गर्न तीन वटै सुरक्षा निकाय, रेडक्रस, स्वंयमसेवक तथा आम सर्वसाधारण नागरिकहरुमा अपिल गरेका थिए ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना लगायत समुदायका नागरिक बिचको सहकार्यले विपद् प्रतिकार्य योजना कार्यान्वयनमा सहजता आएको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ। प्रदेश सरकारको सहजीकरणमा सुरक्षा निकाय र स्थानीय सरकारले विपद्मा परेकाहरुलाई राहत, पुर्नस्थापनाको काम पनि अघि बढाएका छन् ।

बाढी, पहिरोबाट प्रभावितहरुलाई सुरक्षित स्थानमा सारिएको र पुर्नस्थापनाको काम अघि बढेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी गंगाधर पाण्डेले बताए । उनका अनुसार बाढी र पहिरोको उच्च जोखिममा रहेका स्थानीयहरुलाई सार्वजनिक भवन, छिमेकी तथा आफन्तको घरमा बसेका छन् ।

नवलपरासी वर्दघाट–२ बासखोलामा ९ जनाको घर बाढीका कारण डुबानमा परेर क्षती भएको छ । स्थानीय कोशबहादुर आले, हरीबहादुर राई, कादर दर्लामी, तोमन सिंह दर्लामी, तिलकुमारी बाह्रघरे, बमबहादुर बाह्रघरे, तिलकबहादुर रुचालको घर तथा गोठमा क्षती पुगेको छ । सुस्ता गाउँपालिका–५ बड्काटोलमा बाढी पसेको छ ।

नारायणी नदीको पानीको वहाव बढ्दा बाँध समेत फुटेर पानी बस्तीमा छिरेको थियो । स्थानीय प्रहरी र समुदायका नागरिकहरुलाई सार्वजनिक भवनमा सारिएको छ । पाल्पा रैनादेवी छहरा–१ का ज्ञानबहादुर कुमालका १२ जनाको परिवारलाई छिमेकीको घरमा सारिएको छ ।

बगनासकाली–६ निवासी देवनारायण बस्यालको घर पूर्णरुपमा बस्न नमिल्ने भएपछी दुई जना सदस्यलाई सुरक्षित स्थानमा सारिएको छ । तानसेन–५ कैलाशनगर सुकुम्वासी टोलमा पहिरो झर्दा ९ वटा घर जोखिममा परेपछी सुरक्षित स्थानमा सारिएको सूचना अधिकारी पाण्डेले बताए ।

त्यस्तै सूचना अधिकारी पाण्डेका अनुसार बाढी पहिरोको जोखिममा परेका अन्य ४५ जना व्यक्तिहरुलाई सुरक्षित स्थानमा सारिएको छ ।



प्रतिक्रिया दिनुहोस !