१३ आश्विन २०८१, आइतबार

यन्त्र उपकरणसहित उद्धार कार्यमा जुट्न निर्माण व्यवसायी महासंघको अपिल

प्रकाशित मिति :  29 September, 2024 3:47 pm


काठमाडाैँ । विगत केही दिनदेखिको अविरल वर्षापछि आएको बाढी पहिरोका कारण देशका विभिन्न भागमा भएको धनजनको ठूलो क्षतिप्रति नेपाल निर्माण व्यवसायी महासंघले गहिरो दुःख व्यक्त गरेको छ ।

महासंघका महासचिव रोशन दाहालले आइतवार विज्ञप्ति जारी गरी यस प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना र तत्काल उनीहरूको उपचारको भरपर्दो व्यवस्था मिलाउन सरकार समक्ष माग गरेका छन् ।

बाढी पहिरोका कारण घाइते भएका सर्वसाधारण सहित क्षतिग्रस्त परियोजनाका सम्बन्धित् निर्माण कम्पनीहरू÷व्यवसायीहरूलाई यथाशिघ्र राहत उपलब्ध गराउन पनि महासंघले सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ । साथै विपतको यस घडीमा देशभरका अवरुद्ध राजमार्ग तथा बाटाघाटा सुचारु गर्नका लागि सम्बन्धित् सबै निकायलाई आ—आफ्ना यन्त्र उपकरण उपलब्ध गराइ सहयोग गर्न हुन देशभरका तमाम निर्माण व्यवसायीहरूलाई महासंघले अपील गरेको छ ।

पीडित नागरिकको उद्धार र राहतमा सक्रिय हुन समेत सरकार समक्ष अपील गर्दै महासंघले सरकारको उद्धार तथा राहत अभियानमा सक्रिय रुपमा सहभागी हुन सबै व्यवसायीलाई अनुरोध गरेको छ । साथै बाढी पहिरोको चपेटामा परेको देशभरका निर्माण व्यवसायीहरूलाई क्षतिको विवरण महासंघ सचिवालयमा उपलब्ध गराउन विज्ञप्ति मार्फत अपिल गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !